गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

पढ्नै पर्ने

कञ्चनपुर। जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ। फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधारा–चाँदनी नगरपालिकाबाट शुरुआत गरेको अभियानमा जनस्तरबाट, स्थानीय तह, सङ्घसंस्था, सरकारी कार्यालयलगायतबाट सहयोग रकम सङ्कलनको कार्य उत्साहजनकरुपमा अगाडि बढेको छ।

सबै क्षेत्रबाट अभियानलाई सहयोग भइरहेको छ । जनस्तरबाट स्वस्फूर्तरुपमा सहयोग रकम उपलब्ध गराउने कार्य भइरहेको छ। स्थानीय तहमा अभियानबारे फाउन्डेसनका सञ्चालक सीताराम कट्टेलले जानकारी गराउने कार्य गरिरहेका छन्। स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासमेत गरेका छन्।

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक अभाव भएका कारण अर्थ सङ्कलनका लागि मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताए।

रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिनका लागि आइपुगेको उनले बताए। उनका अनुसार रङ्गशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन् । रङ्गशाला निर्माता कट्टेलले रङ्गशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने बताए। सिङ्गो देशको रङ्गशाला बनोस् भन्नका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ। कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि ४३ करोड रुपियाँ खर्च भइसकेको छ। जसमध्ये १३ करोडजति उधारोमा काम गरेको र हाल रङ्गशाला निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ।

अन्तरराष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम पूरा भएको छ। आउँदो वैशाखमा ३० हजार दर्शकले हेर्न मिल्ने गरी पहिलो चरणको प्याराफिट तयार हुनेछ । विसं २०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु तीन अर्ब ५५ करोड खर्च लाग्ने लागत अनुमान गरिएको छ । रङ्गशालामा ३० हजार दर्शक अट्ने र १० हजार सवारी साधन पार्किङ गर्ने सुविधा हुनेछ । बाहिर निष्कने चार द्वार निर्माण गरिने छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!