चलचित्र क्षेत्रको विकासका लागि सहकार्य आवश्यकः मन्त्री गुरुङ

पढ्नै पर्ने

बनेपा। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रको विकासका लागि सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताएका छन्।

आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजना र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहकार्यमा बुधवार काभ्रेपलाञ्चोकको पात्लेखेतमा भएको ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशला गोष्ठिलाई सम्बोधन गर्दै उनले चलचित्र विकास बोर्डलाई प्रभावकारी बनाउने बताए।

आफ्नो धर्म, जाति, भाषा, कला, संस्कृति, पहिचानको जगेर्ना गर्नका लागि लाग्ने काममा सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले त्यसका लागि कार्यपत्र तयार गरी आदिवासी जनजाति चलचित्र महासङ्घले आगामी दिनमा गर्ने कामका बारेमा नीति निर्माण गरेर आएको खण्डमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री गुरुङले आदिवासी चलचित्रकर्मीले आफूहरुको गन्तब्य के हो र कहाँ जाँदै छौँ भन्ने कुरालाई प्रमुख विषय बनाएर हिजोको समाज, संस्कृति, परम्परा के थियो र अहिले यो अवस्थामा आइपुग्यौँ भनेर समीक्षा गर्न जरुरी रहेको बताउँदै पुर्खा र अग्रजले कस्तो जीवन बितायो र त्यसबाट यहाँसम्म कसरी आइपुग्यौं भन्ने कुराको विश्लेषण गरी चलचित्र, गायन, नृत्य र पत्रकारिताका क्षेत्रबाट उजागर गर्न आवश्यक रहेको बताए। त्यसरी गरेको योगदानले आफ्नो पुर्खाले जोगाएर ल्याएको संस्कार, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै भोलिको पुस्तासम्म त्यो खालको शिक्षा र चेतना दिने खालको चलचित्र र पत्रकारिताका माध्यमबाट भूमिका खेल्न उनले आग्रह गरे।

मन्त्री गुरुङले भावनामा डुबेर गलत कुरामा लाग्ने काम कसैले नगर्न आग्रह गर्दै छोटो अवधिमा आफ्नो स्वार्थपूर्ति गर्नका निम्ति बजारमा के बिक्छ भनेरभन्दा पनि त्यसले समाजलाई रुपान्तरणका निम्ति कस्तो प्रभाव पार्छ भन्नेतर्फ सोचेर सचेत भएर लाग्न सुझाव दिए।

उनले सरकारी सञ्चारमाध्यम र आमसञ्चारका क्षेत्रको रुपान्तरणका काममा आफू लागिरहेको बताउँदै नेपाल टेलिभिजनमा तामाङ भाषामा कार्यक्रम प्रसारण गर्ने तयारी भइरहेको र अन्य कार्यक्रमलाई समेत सुधार गर्दै नयाँ ढङ्गले अगाडि बढ्ने तयारीमा रहेको जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!