सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ मा सुतिरहेका एक पुरुषको हत्या भएको छ। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ निमारे स्थित आफ्नै घरमा मंगलबार राति सुतिरहेका ५९ वर्षीय नन्दराम वलीको बन्चरो प्रहार गरि हत्या भएको हो।
हत्या गरिएका वलीको शव बुधवार बिहान सुतिरहेकै ठाउँ आफ्नै घरको बरण्डामा भेटिएको थियो ।
हत्या कसले किन गर्यो भन्ने बारेमा अनुसन्धान गर्न प्रहरीले घटनास्थल सिल गरेको छ। हत्यामा परिवारकै सदस्यको संलग्नता हुनसक्ने आशंका गरिएपनि अनुसन्धान जारी भएकाले केही भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
घटनास्थलको स्थलगत अनुसन्धानका लागि मेहेलकुना प्रहरी चौकी र प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेर शवलाई पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल पठाउने तयारी गरेको घटनास्थलमै भएका स्थानीय गोविन्द वलीले जानकारी दिए।