सुर्खेत। आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदै छ। आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो। यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवद्र्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो।
यो वर्षको स्वयंसेवक दिवसको नारा How volunteers contribute to the Sustainable Development Goals (SDGs) तय गरिएको छ। यसको दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वंसेवकहरुको योगदान भन्ने अर्थ लाग्दछ।
गुर्भाकोट नगरपालिकाले भने एक दिन अगाडि बुधवार नै स्वयंसेवक दिवस मनाएको छ। पालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरु नगरपालिकाबाट प्ले कार्डहरु बोकेर सिटी हल सम्म पुगेका थिए।
संयुक्त राष्ट्र संघले घोषणा गरेको दिवस नै एकदिन अगाडी सारेर आयोजना गरेको कार्यक्रममा १ सय ५६ जना महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, शाखा प्रमुख पूर्णबहादुर घर्ती, नगर प्रमुख हस्त पुन, उपप्रमुख मैना वि.क., प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेश भक्त गौतम लगायतको उपस्थिति थियो।