सुर्खेत। गुर्भाकोट नगरपालिका भित्र बसोबास गर्ने ५ देखि ११ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। पलिकाको शुभाघाट स्थित सभा हलमा मंगलवार पालिका स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा कोभिड १९ विरुद्धको पेडियाट्रिक खोप अभियान सञ्चालन गरिने जानकारी गराईएको हो ।
स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा EpiC Nepal/FHI 360 को आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड १९ विरुद्धको पेडियाट्रिक फाईजर खोप अभियान सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा सञ्चालन हुन लागेको हो । कोभिड १९ को नयाँ भेरिएन्ट जे. एन. १ नेपालमा समेत देखा परिसकेको र यस अघि खोप कभरेज कम भएका जिल्ला तथा पालिकामा खोप अभियान संचालन गर्न परिवार कल्याण महाशाखाको समन्वयमा ब्यबस्थापन महाशाखाले फाईजर खोप पठाइसकेको छ ।
अभियान अन्तर्गत सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा ५,००० डोज खोप आएको छ र सो खोप यस नगरपालिकाको २० वटा खोप केन्द्रमा मंसिर १३ गते देखि १५ गते सम्म कोभिड १९ विरुद्धको पेडियाट्रिक खोप अभियान कार्यक्रम राखिएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै पालिका स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख हस्त पूनले खोप अभियानलाई सफल पार्न सक्रियतापूर्वक लाग्न जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे।