सुर्खेत। सम्भावित विपदबाट सचेत रहन गुर्भाकोट नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बिहीवार मौसम सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
सूचनामा जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण बिहीवार दिउँसो देखि आइतवारसम्म मेघगर्जन र चट्याङ सहित देशभर अस्वाभाविक वर्षा हुने पूर्वानुमान गरेकोले उच्च सतर्कता अपनाउन आवश्यक भएको उल्लेख छ।
यो अवधिमा हुने वर्षा सामान्य मनसुनी वर्षाभन्दा फरक चरित्रको रहेको र परिस्थितिको अध्ययनबाट सुर्खेत जिल्ला उच्च जोखिमयुक्त जिल्लाभित्र परेकोले गुर्भाकोट नगरपालिकाका आम नागरिक तथा सरोकारवालालाई सतर्क रहन र सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
गुर्भाकोट नगरपालिकाले यो अवधिमा अत्यावश्यक बाहेक लामो दुरीको यात्रा नगर्न, नदी जलाधार, भिरालो भू–बनोट तथा बाढी पहिरोको उच्च जोखिमयुक्त स्थानमा बसोवास हुनेले समयमै सुरक्षित स्थानको छनोट गरि स्थानान्तरण हुन तथा धान काटिसकेका किसानहरुले बिहीवार बेलुका सम्म सुरक्षित स्थानमा थन्काउने र नकाटेका किसानहरुले आइतबार सम्म नकाट्न अनुरोध गरेको छ।
सम्भावित विपदको सामूहिक सामना गरौ, एकले अर्कोलाई सहयोग पुर्याऔँ भन्दै पालिकाले केही विपत्ति परे नजिकको प्रहरी चौकी, शसस्त्र प्रहरी साथै कार्यपालिका सदस्य चितेन्द्र वि.क ९८४८१६४७३५ र प्रशासकीय अधिकृत चित्रबहादुर ढकाललाई ९८५७८५५५५६ मा सम्पर्क गर्न समेत सूचित गरेको छ।
्र