Monday, October 7, 2024
spot_img

इलाका प्रशासन कार्यालय मेहेलकुनाले जग्गा प्राप्त ग¥यो

सुर्खेत। इलाका प्रशासन कार्यालय मेहेलकुनाले जग्गा प्राप्त गरेको छ। मेहेलकुना ७ स्थित गोकलपुरमा कार्यालय भवनका लागि प्रशासनले दान मार्फत जग्गा प्राप्त गरेको हो।
इलाका प्रशासन कार्यालयका लागि स्थानीय ३ जना, हैकली कामी, मान कुमारी बुढा र तस्विर कामीले  ६ सय ७८ दशमलव ३२ वर्गमिटरका दरले कुल २ हजार ३४ दशमलव ९६ वर्गमिटर जग्गा (४ रोपनी ) दान गरेका हुन।

इलाका प्रशासन कार्यालय मेहेलकुनाले कार्यालयका लागि जग्गा उपलब्ध गराउन गुर्भाकोट नगरपालिकासँग अनुरोध गरेपछि २०८० माघ २४ गते गुर्भाकोट नगरपालिकाले निशुल्क जग्गा दान गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको थियो। पालिकाको सूचनाको आधारमा तीनैजना स्थानीयले जग्गा दानका लागि निवेदन दिएका थिए। तत्पश्चात गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन संयोजक, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, इलाका प्रशासन कार्यालय मेहेलकुनाका कार्यालय प्रमुख हरि प्रसाद देवकोटा नापी कार्यालय मेहेलकुनाका नापी अधिकृत सोम प्रसाद गौतम सदस्य र मालपोत कार्यालय मेहेलकुनाका तत्कालीन मालपोत अधिकृत  विष्णु प्रसाद शर्मा सदस्य सचिव रहेको समितिले २०८१ वैशाख ७ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाण्डौलाई इलाका प्रशासन कार्यालय मेहेलकुना सुर्खेतको भवन निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धी प्रतिवेदन पेश गरेको थियो।

विभागले २०८१ जेठ ११ गते  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्रालयलाई निर्णयका लागि पत्राचार गरेको थियो। विभागको पत्र र स्थानीय तहको प्रतिवेदनका आधारमा २०८१ जेठ २८ गते मन्त्रीस्तरको निर्णय गरि इलाका प्रशासन कार्यालय मेहेलकुनालाई जग्गा प्राप्तिका लागि निर्णय कार्यान्वयन गर्न २०८१ जेठ ३० गते पत्राचार गरिएको थियो।

विभागले २०८१ जेठ ३२ गते मालपोत कार्यालय मेहेलकुनालाई पत्र लेखी दानबाट प्राप्त जग्गा इलाका प्रशासन कार्यालय मेहेलकुनालाई दाखिल खारेज गरिदिने निर्णय कार्यान्वयन गर्न पत्राचार गरेपछि  उक्त जग्गा आइतबार इलाका प्रशासन कार्यालय मेहेलकुनाका नाममा दाखिल खारेज नामसारी गरिएको मालपोत कार्यालय मेहेलकुनाका कार्यालय प्रमुख विमल आचार्यले जानकारी दिए।

इलाका प्रशासन कार्यालय मेहेलकुनाले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको र जग्गा प्राप्ति भएसँगै आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरि भवन निर्माणको प्रक्रिया सुरु गरिने गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बताए। कार्यालयले पूर्वी सुर्खेतका ४ ओटा पालिकाका लागि सेवा प्रवाह गर्दै आईरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!