मेरो अचम्मको एउटा बानी छ। हुन त यो बानी धेरैजनासगँ मेल पनि खान सक्छ। फेसबुकमा आएका फ्रेन्ड रिस्वेस्ट झट्ट एक्सेप्ट नगर्ने। गर्दै नगर्ने पनि होईन तर केहि चिनेकै कोहि व्यक्ति भएपनि पर्खिने। नचिनेका भए प्रोफाईको भित्र गएर खोतलखातल गर्ने मुनासिव लागे केहिदिनमा एक्सेप्ट हुन पनि सक्छ नत्र रहिरहन्छ। अनि कुनैदिन डिलिट हुन सक्छ। त्यसो त पहिलेको जस्तो फेसबुकप्रति लगाव त छैन तर बेलाबेलामा फेसबुकमा गएर टाईमलाईन स्क्रोल गर्नुको पनि छुट्टै मजा छ।
फेसबुक त्यो ठाउँ हो जहाँ सुतिसुति आफ्नो छरछिमेकमा गाउँमारबजारमा के भईरहेको छ हेर्न पाईन्छ। कसको जन्मदिन, कसको म्यारिज एनिभर्सरी, कसको बेबी सावर, को कहाँ गयो, कसको कतिवटा बच्चा भयो। यी सामान्य भए। ती बाहेक कसको घरमा झगडा पर्यो। कसले नयाँ गाडी किन्यो, नयाँ सारी किन्यो, कसको घरमा भैसी ब्यायो कसको बाख्राले कतिवटा पाठा पायो हेरक चिज अचेल यहि फेसबुकमा थाहा पाउन पाईन्छ। सुरु सुरुमा मलाई पनि सबै चिज फेसबुकमा राख्न मन लाग्थ्यो। अहिलेको जस्तो सुलभ ईन्टरनेट भएको भए म पनि बाँकी राख्थिन होला तर जतिजति ईन्टरनेट सुलभ हुदै गयो त्यतित्यति म पनि फेसबुकबाट हराउँदै गए। अचेल मेरो फेसबुक फेस रिडिङ बुक जस्तै भईसकेको छ। जाने अनि हेर्ने मात्रै।
एकदिन यस्तै टाईमलाईनमा दौडिरहदा मेरो फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो। भित्र गएर हेरे। एउटी बहिनीको रहेछ तर मैले नचिनेको। प्रोफाईलमा नै गएर हेरे। स्कुले बहिनी रहिछन्। थुप्रै फोटोहरु थिए। चस्मा लगाएको गोरीगोरी छोटो कपाल गरेकी झट्ट हेर्दा मगर जस्ति तर नेवार रहिछन । साथीहरुको लिस्ट हेरे। धेरै कमन फ्रेन्ड रहेछन्। एउटै जिल्ला तर गाउँ फरक रहेछ हाम्रो सायद मेरो गाउँसगँ उनको केहि साईनो पर्दो हो। रिक्वेस्ट एक्सेप्ट गर्न खासै अड्किन पर्ने जस्तो लागेन मैले रिक्वेस्ट एक्सेप्ट गरे हामी फेसबुके साथी भयौ। फेसबुकको टाईमलाईन चहारी रहने मेरो बानी ती बहिनीको पोेष्टहरु बेलाबेलामा मेरो टाईमलाईनमा पनि आईरहन्थे। साथीहरुसगँ घुम्न गएका, घरमा पर्वहरु मनाएका अन्य अन्य पोष्टहरु आईरहन्थे कहिलेकाही म पनि उनको पोष्ट लाईक गर्थे। आकलझुकल मैले गर्ने पोष्टहरुमा पनि बडो प्राथमिकताका साथ उनको रियाक्ट आउनेगर्थे। एकजना मेरै गाउँ नजिकैको कुनै गाउँको बहिनी मेरो फेसकुमा साथी छन् भन्ने मलाई याद भएजस्तै म पनि उनलाई सायद याद थिएहोला तर हाई हेल्लो वाला म्यासेज हामीबिच कहिल्यै आदानप्रदान भने भएन। समय बर्ष बित्दै गए। उनको एसएलसी सकियो। उनी पास भईन्। मलाई फेसबुकबाटै थाहा भयो। उनी ११ मा भर्ना भईन्। उनको कलेजको जिन्दगी सुरु भयो। कसैकसैको आफ्नो जिन्दगीका सानाठूला सबैखाले कुराहरु फेसबुकमा राख्ने चलन हुन्छ ती बहिनी पनि तिनीहरुमा एक थिईन्।। उनको दिनचर्या कस्तो चलिरहेको छ यो थाहा पाउन मैले उनको प्रोफाईलसम्म पनि पुग्न पर्थेन बस् टाईमलानमा आईरहन्थे। कुनैकुनै रियाक्ट गर्थे कुनै हेरेर ए१ भन्ने लागेर माथितिर घिसारिन्थे। उनी ११ पास भईन् १२ पास भईन्।१२ पास भएपछिको केहि महिनापछि उनको फेरि फेसकुकमा पोष्ट आयो यसो त घुमघामका पोष्टहरु नआउने होईन तर यो अलि स्पेशल थियो। उनको सुपारी समाएको दिनको पोष्ट अर्थात् ईन्गेजमेनटको पोष्ट।
अहो, अस्तिमात्रै स्कुले बहिनीको पोष्ट एक्सेप्ट गरेको मैले हेर्दाहेर्दै बिहे हुने भईसकेछ। मैले पनि उनको पोष्टमा लभ रियाक्ट गरिदिए। केहि दिनपछि उनको बिहे भयो बिहेका फोटोहरु आए फेसबुक भरी बधाई लेखिएर। मैले पनि एउटा फोटोको तर बधाई छ लेखिदिए। यो भन्दा बढी लेख्नेगरी म नजिक पनि त भएकी थिईन तर फोटोहरु हेरेर मनमनै रियाक्ट गर्ने म मैले यति लेख्न कमेन्ट बक्ससम्म जानु पनि आफुले आफुलाई ठुलै जाँगर लगाएको मान्छु। दिनहरु यस्तै चलिरहेका थिए। फेसबुकको दुनियाँ पनि यस्तै चलिरहेको थियो। एकदिन समान्यजस्तै म फेसकुकको टाईमलाईन चर्दै थिए। कतैबाट उनै बहिनीको फोटो आयो कसैले उनको आईडीमा ट्याग गरेको। फोटो नयाँ थिएन पुरानै थियो साथमा एउटा भर्खरै जन्मिएको बच्चाको फोटो अनि क्याप्सनमा थियो ( हार्दिक श्रद्धाञ्जली।।।।
म चिसो भए। दिमागले भन्यो गलत पढिस् फेरि पढ् मैले फेरि पढे क्याप्सन उहि नै थियो। त्यो पोष्टमा विश्वास गर्न मन भएन। मैले ती बहिनीको प्रोफाईलमा क्लिक गरे। धेरै दिन भएको रहेछ उनको आफ्नै पोष्ट नआएको तर हार्दिक श्रद्धाञ्जली लेखेका ट्याग गरिएका उनका फोटोहरुले प्रोफाईल भरिएको थियो। कोहि एकाएक हराएको जस्तो एक किसिमको वियोग महसुस भयो। म ति फोटोमा आएका एकएक कमेन्टहरु कोट्याउन थाले। सबैले वियोगको शोकले कमेन्ट बक्स भरेका थिए। कोट्याउँदै जाँदा थाहा भयो उनलाई ट्युमर भएको रहेछ त्यहि कारणले गर्दा सुत्केरी भएको १ महिना पनि नबित्दै उनी यो संसारबाट बिदा भएकी रहिछन्।। असाध्यै नरमाइलो लाग्यो। बियोगका समाचार सुन्दा समेत टुक्राटुक्रा हुने मेरो मन उनीसगँ भनुँ या उनको त्यो फेसबुक प्रोफाईलसगँ त मेरो एक किसिमको सम्बन्ध थियो।
जुन प्रोफाईलमा अब कुनै अपडेट हुने छैन नयाँ पोष्टहरुले मेरो टाईमलाईन भरीने छैनन्।, सर्च गरे अझै पनि उनका ती पुराना तस्वीरहरु देखाउँछन् तर बिना बोलचाल बिना चिनजानको मात्रै पोष्टहरुमा रियाक्ट गर्दै चलिरहेको त्यो फुसबुके सम्बन्ध जहाँ अर्कै आत्मियता थियो छुट्टै लगाव थियो सम्बन्ध निभाउने आफ्नै किसिमका तरिकाहरु थिए त्यो एउटा अदृश्य आत्मिय सम्बन्धमा मा पुर्णविराम लाग्यो।