सुर्खेत। गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बालविवाह रोक्न सिंगो समाज एक ठाउँमा उभिनुपर्ने बताएका छन्। गुर्भाकोट नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले शुक्रवार पालिकाको सभा हलमा आयोजना गरेको बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सञ्चालित कार्यक्रम एवं रणनीतिक योजनामा आधारित समीक्षात्मक कार्यशाला गोष्ठीलाई संवोधन गर्दै नगरप्रमुख पुनले नगरपालिकाको एक्लो प्रयासले मात्र बालविवाह रोकथाम र न्यूनीकरण नहुने धारणा राखे।
बालविवाह न्यूनीकरण र रोकथामका लागि यहाँका राजनीतिक दल, बुद्यिजीवि, समाजसेवी, शिक्षक, अभिभावक र सरोकारवालाहरुले साझा लक्ष्य बनाउनु पर्नेमा नगर प्रमुख पुनको जोड थियो।
गुर्भाकोट नगरपालिकाले बढ्दो बालविवाह दरलाई रोक्न विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ। ऋभियान अन्तर्गत यो वर्ष गुर्भाकोट नगरपालिकाका १४ वटै वडा र गुर्भाकोट नगरपालिका भित्रका १० वटा माध्यामिक विद्यालयमा बालविवाह विरुद्धको सचेतना कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको सहायक महिला विकास निरीक्षक तुलसी कुमारी बि.सीले जानकारी दिईन।
वि.सं. २०८३ सम्ममा बालविवाहमुक्त पालिका बनाउने संकल्प लिएको गुर्भाकोट नगरपालिकामा बालविवाहको दर भने निकै उच्च छ।