सुर्खेत। सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको टोली गुर्भाकोट पुगेको छ। सुशासन प्रवर्द्धनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको टोली बुधवार गुर्भाकोटको मेहेलकुना पुगेको हो।
अन्तरक्रियामा आयोगका तर्फबाट अख्तियारको क्षेत्राधिकार, उजुरीको तथ्यांक, मुद्धाको स्थिति लगायतका विषयवस्तु समेटिएको प्रस्तुती पेश गरिएको थियो। आयोगको प्रस्तुतीकरण हेरि सकेपछि सरोकारवालाहरुले अख्तियार सुर्खेतको नेतृत्वलाई अख्तियार सम्बन्धी प्रश्न, जिज्ञासा, सुझाव र गुनासो राखेका थिए। यसरी प्रश्न, सुझाव, गुनासो र जिज्ञासा राख्नेहरुमा शिक्षक गंगाप्रसाद भट्ट, शिक्षक ढालबहादुर खत्री, सञ्चार उद्यमी सूर्यदीप रेग्मी, गुर्भाकोट १३ का अध्यक्ष मधु गुरुङ, गुर्भाकोट ५ का वडाध्यक्ष लालबहादुर पुन, गुर्भाकोट ११ का वडाध्यक्ष राजन बि.सी., गुर्भाकोट ११ का वडासदस्य दिपेन्द्र कुमार शाही, स्थानीय लालबहादुर राजी, स्थानीय सूर्यनारायण रेग्मी, स्थानीय किरण वली लगायत थिए।
सरोकारवालाहरुले उठाएका जिज्ञासाहरुको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख सह–सचिव रामकृष्ण पुडासैनीले जवाफ दिएका थिए। कार्यक्रमलाई गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री र नगरप्रमुख हस्त पुनले सम्बोधन गरेका थिए।
आयोगको सुर्खेत कार्यालयले आयोजना गरेको अन्तरक्रियामा गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरु, गुर्भाकोटस्थित विद्यालयका प्रधानाध्यापकहरु र वि.व्य.स. अध्यक्षहरु, सामुदायिक वनका पदाधिकारीहरु, सञ्चार क्षेत्रका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो।