Sunday, July 21, 2024
spot_img

गुर्भाकोट नगरपालिकामा आउने भन्दा बसाईसरी जाने बढी

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ। पूर्वी सुर्खेतको केन्द्रका रुपमा रहेको गुर्भाकोट नगरपालिकामा जनता टिकाउनै मुस्किल भएको तथ्याङ्कले देखाएको छ। गुर्भाकोट नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको तथ्याङ्क अनुसार विगत ४ वर्षमा बसाइइसरी आउनेको तुलनामा बसाइसरी जानेको तथ्याङ्क बढि रहेको छ ।

पञ्जिकरण शाखा प्रमुख एमआईएस अपरेटर तेजराज केसीका अनुसार वि.सं. २०७७ सालदेखि २०८० सालसम्म पालिकामा जम्मा ४ सय ९१ परिवारका १ हजार ६ सय १२ जना बसाइसरी आएका छन् । सोही अवधीमा ६ सय ६ परिवारको १ हजार ८ सय ४६ सदस्य बसाइसरी अन्यत्र गएका छन्। पछिल्लो ४ वर्षमा सबैभन्दा बढि बसाईसरी जाने जाने ३ नम्बर वडाका नागरिक रहेका छन् । ४ वर्षमा ३ नम्बर वडाका ६९ परिवारका २ सय १४ सदस्यले गाउँ छाडेका छन् । दोस्रोमा १४ नम्बर वडाबाट ६७ परिवारका २ सय ३२ जना र तेस्रोमा ६ नम्बर वडाका ६६ परिवारका १ सय ९४ जना बसाइसरी वडा छोडेका छन्। सबैभन्दा कम बसाई सराई हुने वडा भने १० नम्बर रहेको छ । १० नम्बर वडाबाट ४ वर्षमा जम्मा २३ परिवारका ६८ जना मात्र बसाइसरी गएका छन् ।

बसाइसरी आउनेको तथ्याङ्क भने बसाई सरि जानेको तुलनामा कमजोर छ । यद्यपि बसाइ सरी आउनेहरुको रोजाइको वडा भने १३ नम्बर रहेको छ । चार वर्षमा कुल बसाइ सरी आएका ४ सय ९८ परिवार मध्ये ८५ परिवार १३ नम्बर वडामै आएका छन् । दोस्रोमा ९ नम्बर वडा रहेको छ । यस वडामा ७५ परिवारका २ सय ४८ जना अन्यत्रबाट बसाइसरी आएका छन् । त्यस्तै ५१ परिवारका १ सय ५३ जना बसाईसरी आएको ८ नम्बर वडा तेस्रो रोजाईमा परेको छ ।

बसाईसराईको वार्षिक तथ्याङ्क हेर्ने हो भने गुर्भाकोट नगरपालिकामा २०७७ सालमा ६४ परिवार बसाईसरी आएका छन् । सोही वर्षमा २ सय १२ परिवार अन्यत्र गएका छन् । तथ्याङ्क अनुसार २०७८ सालमा भने २ सय १० परिवार बसाईसरी आउँदा १ सय ५९ परिवार मात्र बसाइसरी गएका छन् । २०७९ सालमा १ सय ३८ परिवार बसाइसरी आएका छन् भने १ सय ३९ परिवार बसाई सरी गएका छन् । त्यसैगरी वि.सं. २०८० सालमा ८६ परिवार बसाईसरी आउँदा १ सय ८ परिवार बसाईसरी गएको तथ्याङ्क रहेको एमआइएस अपरेटर तेजराज केसीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!