Sunday, November 3, 2024
spot_img

सीएमसी नेपालको रचनात्मक शैलीः मानसिक स्वास्थ्यका लागि वनभोज आयोजना गरेर मनोपरामर्श

सुर्खेत। मानसिक स्वास्थ्य समस्या भएका गुर्भाकोटका बिरामीहरुलाई रचनात्मक शैलीमा परामर्श दिईएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी नेपाल) र गुर्भाकोट नगरपालिकाको साझेदारीमा शुक्रवार वनभोज आयोजना गरेर मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुलाई मनोपरामर्श दिइएको हो।

वनभोजमा रमाउँदै मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुले सीएमसी नेपालको परामर्श र निशुल्क औषधीका कारण आफूहरुको मानसिक स्वास्थ्यमा सुधार आउँदै गएको बताए।

कार्यक्रममा सीएमसी नेपाल गुर्भाकोटका मनोपरामर्शकर्ता खुमबहादुर वली र कविता विश्वकर्माले परामर्श र औषधी सेवन गरिरहेका मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुलाई परामर्श दिएका थिए। मनोपरामर्शकर्ता वलीले मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु सामाजिक रुपले त्यति धेरै खुल्न नचाहने भएकाले सामाजिक रुपले घुलमिल गराउने विभिन्न उपायहरु मध्येको एक वनभोज आयोजना गरिएको बताए।

वनभोजमा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले परामर्श र औषधी सेवन पछि आफूहरुमा सुधार आएको भन्ने सहभागीहरुको प्रतिक्रियाले खुसि लागेको बताए। पुनले आगामी दिनमा पनि पालिकाबाट मानसिक स्वास्थ्य शिविर लगायतका परामर्शका कामहरु निरन्तर हुने बताए।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती लगायतको उपस्थिति थियो।

खासगरी द्धन्द्ध पीडितहरुको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको सीएमसी नेपालले गुर्भाकोट नगरपालिकासँगको साझेदारीमा सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!