Monday, January 20, 2025
spot_img

सार्वजनिक जग्गा पहिचान गर्दै गुर्भाकोट नगरपालिका

सुर्खेत। गुर्भाकोट नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गर्न सुरु गरेको छ। गुर्भाकोट नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर सार्वजनिक जग्गाको पहिचान सुरु गरिएको हो।

यसअघि गुर्भाकोट ९ मा रहेको ६२ रोपनी बढी सार्वजनिक जग्गा पहिचान र रेखांकन गरेको गुर्भाकोट नगरपालिकाले अब वडा नं. ८ मा रहेका सार्वजनिक जग्गाहरुको पहिचान गर्ने अभियान सुरु गरेको छ। शुक्रवार वडा नं. ८ को वडा कार्यालयमा आयोजित सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अब गुर्भाकोट ८ मा रहेका सार्वजनिक जग्गाहरुको पहिचान गरिने बताइएको छ।

अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले नेपाल सरकारकै नीति बमोजिम गुर्भाकोट नगरपालिकाको नगर सभाले पास गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने अधिकारी आफू भएकोले सरोकारवालाहरूलाई जानकारी दिन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए। खत्रीले कार्यक्रम अन्तर्गत पहिलो चरणमा गुर्भाकोट ८ का सार्वजनिक जग्गाहरुको पहिचान, दोश्रो चरणमा रेखांकन र तेस्रो चरणमा सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने अभियान सञ्चालन हुने जानकारी दिए।

गुर्भाकोट ८ का वडाध्यक्ष किरण कुमार वि.क. को अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले आआफ्नो धारणा राखेका थिए। सार्वजनिक जग्गाको पहिचान र रेखाङ्कन लागि गुर्भाकोट नगरपालिकाले घर नक्सा/नापी उपशाखाका अमिन काशिराम शर्मालाई जिम्मेवारी दिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!