सुर्खेत। वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुर्घटना दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ। गुर्भाकोट ५ बस्ने संस्थाको शेयर सदस्य खगीसरा मगरलाई बुधवार एक कार्यक्रमकैबीच दाबी रकम हस्तान्तरण गरिएको हो।
२०७८ साल देखि वीरेन्द्रनगर सहकारीमा आवद्ध मगरले २०८० भदौमा संस्थाबाट ५० हजार रुपैयाँ ऋण लिएकी थिइन। संस्थाकी शेयर सदस्य मगर २०८० पुष १ गते रुखबाट लडेर घाइते भई पूर्ण अपांग भएकी थिइन। मगरले ऋण लिदा संस्थाले सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएको थियो। सोही बिमा रकमको दाबी भुक्तानी रकम मगर र उनका पति बीरबहादुर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।
दुर्घटना दाबी रकम भुक्तानी कार्यक्रमको अध्यक्षता गरेका संस्थाको मेहेलकुना शाखाका उपसमिति संयोजक उदयराज गिरीले सानै रकम भएपनि यस्ले दुर्घटनाको घाउमा मल्हमपट्टी लगाउने बताए।
गुर्भाकोट ४ का वडासदस्य एवं संस्थाको मेहेलकुना उपसमिति सदस्य ज्ञानबहादुर डाँगी, संस्थाका कर्मचारी प्रेमकला वि.क. र संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम गुर्भाकोट ५ का कार्यवाहक अध्यक्ष गोबिन्द धुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाका मेहेलकुना शाखा प्रमुख रुपक पौडेलले जानकारी दिए।