Sunday, December 8, 2024
spot_img

गुर्भाकोटमा भोलि देखि सञ्चालन हुने मेयर कप–२०८० को तयारी अन्तिम चरणमा

सुर्खेत। गुर्भाकोटमा भोली देखि सञ्चालन हुने मेयर कप–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ। यही फागुन २३ गते देखि २६ गते सम्म सञ्चालन हुने मेयर कप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

गुर्भाकोट नगरपालिकाले मेयर कप प्रतियोगिता अन्तर्गत ३ वटा विधामा खेल खेलाउने तयारी गरेको छ। गुर्भाकोट नगरपालिकाका खेलकुद प्रशिक्षक खगेन्द्र माझीका अनुसार मेयर कप प्रतियोगिता – २०८० अन्तर्गत फूटबल, भलिबल ( महिला र पुरुष ) र ब्याडमिन्टन खेल हुनेछन्।

ब्याडमिन्टन खेलका लागि ७ टिम, महिला भलिबलका लागि ६ टिम, पुरुष भलिबलका लागि ७ टिम र फूटबल खेलका लागि १३ टिम दर्ता भएको प्रशिक्षक माझीले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुने सबै विधाका सबै खेलाडीहरुका लागि गुर्भाकोट नगरपालिकाले नै पोशाक उपलब्ध गराएको छ। प्रतियोगितामा सबै विधामा विजेता र उपविजेता बन्ने टोलीले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। नगद पुरस्कारको फुटबलतर्फ मेयर कप–२०८०को विजेता बन्ने वडाले ४० हजार ( कर सहित ) प्राप्त गर्ने छ भने उपविजेता बन्ने वडाले २० हजार ( कर सहित ) नगद पुरस्कार पाउने छ। यसैगरी महिला तथा पुरुष दुवै भलिबलमा विजेता बन्ने टोलीले नगद २०/२० हजार तथा उपविजेता बन्ने टोलीले नगद रु.१०/१० हजार प्राप्त गर्नेछन्। यस्तै ब्याडमिन्टनतर्फ विजेता टोलीले नगद रु.१० हजार तथा उपविजेता बन्ने टोलीले ५ हजार नगद पुरस्कार पाउने छन्।

मेयर कप प्रतियोगिता २०८० अन्तर्गत फुटबलतर्फ बुधवार बिहान  वडा नं. १ र २ बीच पहिलो प्रतिस्पर्धा हुनेछ। यसैगरी फुटबलतर्फको दोश्रो खेल वडा नं. ५ र वडा नं. ११ बीच हुनेछ। यी दुई खेलपछि मध्यान्ह १२ बजे मेयर कप प्रतियोगिता को औपचारिक उद्घाटन हुनेछ।  उद्घाटन सत्रमा गुर्भाकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण डोरी तान प्रतियोगिता हुने प्रतियोगिताको आयोजक नगर खेलकुद विकास समिति गुर्भाकोट नगरपालिकाले जनाएको छ। 

उद्घाटन सत्र पछि वडा नं. ४ र वडा नं. ७ बीच फूटबल प्रतिस्पर्धा हुनेछ। बुधवार मध्यान्ह १२ बजे गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले मेयर कप प्रतियोगिता –२०८० को औपचारिक उद्घाटन गर्ने छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!