सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको छ। वडा कार्यालय प्राङ्गणमै रहेको कोसेली घरमा गुर्भाकोट ८ का नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले शुक्रवार स्वास्थ्य केन्द्र स्थापना गरिएको हो।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्णबहादुर घर्तीले यो स्वास्थ्य केन्द्रले उपचारात्मक भन्दा पनि प्रवर्द्धनात्मक सेवालाई जोड दिने बताए। स्वास्थ्य केन्द्रको नजिकै ५० शैयाको मेहेलकुना अस्पताल भएकाले उपचारात्मक सेवा मेहेलकुना अस्पतालबाट र प्रवर्द्धनात्मक सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सञ्चालन गरिनुपर्ने धारणा राखे।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले स्वास्थ्य केन्द्रका लागि हाल दुईजना स्वास्थ्यकर्मी खटाइएको र आवश्यक परे थप कर्मचारी व्यवस्थापन गर्ने बताए। यद्यपि यो आधारभूत स्वास्थ्य सेवा केन्द्रकै लागि नयाँ कर्मचारी भर्ती नगरिने र भएकै कर्मचारीहरुबाट आवश्यकताका आधारमा व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाई छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र मेहेलकुनाको प्रमुखको जिम्मेवारी गुर्भाकोट नगरपालिकाले सिअहेव चन्द्र प्रसाद पौडेललाई दिएको छ भने अ.हे.व. सिर्जना थापालाई पनि स्वास्थ्य केन्द्र मेहेलकुनामा खटाइएको छ।