Monday, December 9, 2024
spot_img

शुभाघाट मेलाको तयारी सुरु, मेला मर्यादित बनाउन नगर प्रमुख पुनको निर्देशन

सुर्खेत। मंसिर पूर्णिमाका अवसरमा गुर्भाकोटको मेहेलकुनामा लाग्ने शुभाघाट मेलाको तयारी सुरु भएको छ। गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनको कार्यकक्षमा बुधवार बसेको सरोकारवालाहरुको बैठकले मेलालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उप समितिहरू गठन गर्दै तयारी थालेको हो।

शुभाघाट मेलालाई व्यवस्थित बनाउन गुर्भाकोट नगरपालिकाको मेला महोत्सव सञ्चालन कार्यविधि २०७५ को दफा ८ बमोजिम नगर प्रमुख हस्त पुनको संयोजकत्वमा मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा उपप्रमुख मैना वि.क., प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, पूर्वाधार विकास समितिका संयोजक गोबिन्द वली, आर्थिक विकास समितिका प्रेमा घर्ती, वडा नं. ७ का अध्यक्ष बासुदेव शर्मा, वडा नं. ८ का अध्यक्ष किरण कुमार वि.क., वडा नं.१२ का अध्यक्ष तुल्सी प्रसाद शर्मा, इलाका प्रशासन कार्यालयका प्रमुख हरिप्रसाद देवकोटा, मेहेलकुना प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरज रोकाय र सदस्य सचिव गुर्भाकोट नगरपालिकाका प्रशासन अधिकृत चित्रबहादुर ढकाल रहेका छन्।

मेलालाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ। जसमा स्टल व्यवस्थापनका लागि राजेन्द्र शर्मा, कला तथा सांस्कृतिक संरक्षणका लागि प्रेमकुमार कँडेल, प्रचार प्रसारका लागि सूर्यदीप रेग्मी, आर्थिक संकलन तथा व्यवस्थापनका लागि धनबहादुर चन्द, स्वयंसेवक परिचालनका लागि नरेश खड्का र विपद तथा स्वास्थ्यका लागि चितेन्द्र वि.क.लाई संयोजक तोकिएको छ।

बैठकमा मूल आयोजक समितिका संयोजक एवं नगर प्रमुख पुनले उपसमिति संयोजकहरुलाई मेलालाई व्यवस्थित, ऐतिहासिक र मर्यादित बनाउन ३ दिन भित्र विषयगत कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

शुभाघाट मेला पौष १० गते साँझ सुरु भई पौष १४ गते शनिवार साँझ समापन हुनेछ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!