सुर्खेत। गुर्भाकोट नगरपालिकाले नवौँ उद्योग दिवस मनाएको छ। पालिकाको उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा शनिवार नगरपालिकाको सभा हलमा उद्योगी र सरोकारवालाबीच अन्तरक्रिया गरि दिवस मनाइएको हो।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हस्त पुनले उद्योगी व्यवसायीका समस्याहरु सुन्न र सकेको सहयोग समन्वय गर्न पालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे। नगर प्रमुख पुनले स्थानीय सरकारका प्रतिनिधिलाई मात्रै सम्पूर्ण कुरा थाहा नहुने भन्दै सबै क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्ने धारणा राखे।
यसैगरी उपप्रमुख मैना वि.क.ले बजेटको सीमितता र समय अभावका कारण यस वर्षको कार्यक्रम ठूलो आकारमा गर्न नसकिएता पनि आगामी वर्ष पालिकाभित्रका स्थानीय उत्पादनहरुको बजार लगाउने र प्रवर्द्धन गर्ने विषयमा गम्भिर ढंगले अघि बढ्ने योजना रहेको बताइन्।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर ढकालले व्यवसाय करका सम्बन्धमा र शाखाका कर्मचारी महेश सिंहले उद्योग दर्ता, नवीकरण लगायतका विषयमा प्रस्तुतीकरण पेस गरेका थिए।
आर्थिक मन्दीका कारण भोग्नु परेका चुनौतीहरुबारे समेत उद्योगी व्यवसायीहरुले आफ्नो धारणा राखेका थिए। यसरी धारणा राख्नेहरुमा सञ्चार उद्यमी सूर्यदीप रेग्मी, दुग्ध उद्योगका तर्फबट यामबहादुर खड्का, एग्रोभेट व्यवसायी सुरेश रोकाय, ब्युटिपार्लर व्यवसायी सम्झना मल्ल, मोटरसाइकल व्यवसायी रामकृष्ण श्रेष्ठ लगायत थिए।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाको नगर स्वास्थ्य शाखाका प्रमुख पूर्णबहादुर घर्तीले स्थानीय स्तरमा उद्योग व्यवसाय सञ्चालन गर्दा लागत अनुमानको जोखिमबारे आफ्नो अनुभव सुनाएका थिए।