सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ११ मा दिपावलीका अवसरमा चियापान कार्यक्रम सम्पन्न गरिएको छ। वडा कार्यालय परिसरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि दिपावलीका अवसरमा चियापान तथा शुभकामना आदान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ठम्मर विष्टले नजिकको सरकारका रुपमा वडा कार्यालयले काम गरिरहेको भएपनि ठूला परियोजनाका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि संघ र प्रदेशको मुख ताक्नुपर्ने अवस्थाका कारण कुनै दल विशेष भन्दा पनि काम गर्न सक्ने मान्छेलाई रोज्नु पर्ने आवश्यकता औंल्याए। विष्टले आफू कर्णाली प्रदेश सभा सदस्य हुँदा थुप्रै विकास निर्माणको कामका लागि बजेट व्यवस्थापन गरेको जिकिर गरे।
कार्यक्रमको अध्यक्षता गरेका गुर्भाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष राजन वि.सि.ले आफूहरु कुनै एउटा दलको चुनाव चिन्हबाट निर्वाचित भएको भएपनि निर्वाचित भइसकेपछि दलीय चश्मा फुकालेर वडाबासीहरुको सेवामा निरन्तर लागिरहेको बताए। यद्यपि वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा दलीय पूर्वाग्रहका कारण कतिपय राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित नहुने गरेकोमा दुखेसो व्यक्त गरे।
कार्यक्रममा वडाध्यक्ष बि.सीले गत आर्थिक वर्षमा वडा कार्यालयबाट प्रवाह गरेका सेवाहरुको विवरण समेत प्रस्तुत गरेका थिए। आत्मियता साटासाट र नागरिकका गुनासो समेत सुन्न पाइने भएकाले चियापान कार्यक्रमको आयोजना गरिएको बि.सीको भनाई थियो।
कार्यक्रममा गुर्भाकोट १० का अध्यक्ष थमन खत्री, सञ्चार उद्यमी सूर्यदीप रेग्मी, स्वास्थ्यकर्मी शेरबहादुर खत्री, युवा संघ नेपालका गुर्भाकोट अध्यक्ष सुरेश रोकाय लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए। वडा सचिव नेत्रबहादुर वि.कले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य दिपेन्द्र कुमार शाहीले स्वागत गरेका थिए।