सुर्खेत। गुर्भाकोट नगरपालिकाले मानसिक स्वास्थ्य दिवस मनाएको छ। हरेक वर्ष अक्टोबर १० तारिखमा मनाइने मानसिक स्वास्थ्य दिवस यसपटक गुर्भाकोट नगरपालिकामा अक्टोबर ११ तारिखमा मनाइएको हो। कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले इजरायलमा हमासको आक्रमणमा परि १० नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनामा सरकारले अक्टोबर १० मा राष्ट्रिय शोक घोषणा गरेका कारण कार्यक्रम सानुृपरेको प्रष्टिकरण दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले मानसिक स्वास्थ्यबारेको चेतना जनस्तरमा प्रभावकारी ढंगले पुर्याउन सके मानसिक स्वास्थ्यमा देखिने समस्या न्यूनीकरण गर्न सकिने धारणा राखे। नगर प्रमुख पुनले पालिकाभित्र मानसिक स्वास्थ्यमा देखिने समस्या समाधानका लागि सरोकारवाला सबैसँग हातेमालो गर्न गुर्भाकोट नगरपालिका प्रतिवद्ध रहेको जनाए।
मेहेलकुना अस्पतालका डा. बिनोद यादवले मानसिक स्वास्थ्य र बुझ्नु पर्ने कुराहरुबारे प्रस्तुती दिएको उक्त कार्यक्रममा उपप्रमुख मैना वि.क, नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढालबहादुर खत्री, योग प्रशिक्षक प्रेम गौतम, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु र केही विद्यार्थीहरु समेत उपस्थित थिए।