गुर्भाकोट नगरपालिकाका कर्मचारी आन्दोलित, अत्यावश्यक बाहेकका सेवा ठप्प

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्। स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको निर्देशन अनुसार आइतबार देखि कर्मचारीले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाहमा पेन डाउन गरेका हुन्। उनीहरुले हातमा कालो पट्टी बाँधेर कामकाज ठप्प पारेका हुन्।

गत सोमबारदेखि संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । 

संघर्ष समितिका गुर्भाकोट संयोजक चिरञ्जिवी गौतमका अनुसार आन्दोलन र मागहरुको जानकारी पत्र नगर प्रमुख हस्त पुन, नगर उपप्रमुख मैना वि.क र प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीलाई बुझाइएको छ। 

स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेर स्थानीय तहका कर्मचारीहरुले आन्दोलन गरिरहेका हुन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!