सुर्खेत। गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सुर्खेत ४५ औँ स्थानमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादन मुल्यांकनमा सुर्खेत १०० मा ८७.६३ अंक प्राप्त गर्दै ४५ औँ स्थानमा परेको हो । गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा पर्छर्यौट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयहरू रहेका थिए ।
उक्त मुल्याकंनमा दैलेख ८८.३८ अंक प्राप्त गर्दै ४१ औँ स्थानमा, कालिकोट ८३ अंक सहित ५६ औँ स्थानमा, जुम्ला ७८.०९ अंकसहित ६८ औँ स्थानमा, हुम्ला ८१.६५ अंक सहित ५९ औँ स्थानमा, मुगु ८८.१३ अंक सहित ४२ औँ स्थानमा, डोल्पा ८८.५० अंक सहित ३९ औँ स्थानमा परेका छन्। यस्तै ६६ अंक प्राप्त गर्दै जाजरकोट ७६ औँ स्थानमा छ भने रुकुमपश्चिम ९६.१३ अंक प्राप्त गरि दोस्रो स्थानमा रहेको तथ्याकंमा देखिएको छ । यसैगरी सल्यान ९३.५६ अंक प्राप्त गर्दै १३ औँ स्थानमा रहेको छ।
औसतमा धेरै जसो जिल्लाहरुले ८६.५ अंक प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ । देशभरको ७७ वटै जिल्ला मध्ये ९६.४४ अंक प्राप्त गर्दै गुल्मी मुलुककै पहिलो जिल्ला बनेको छ भने ६१.६५ अंक प्राप्त गरि सिराहा अन्तिम ७७ औँ नम्बरमा परेको छ ।