सुर्खेत। एक महिना देखि नेतृत्वविहीन गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले प्रमुख पाएको छ। नगर कार्यपालिकाको बुधवार बसेको बैठकले दोश्रो वरीयतामा रहेका पूर्णबहादुर घर्तीलाई शाखा प्रमुख बनाउने निर्णय गरेको हो।
तत्कालीन जनस्वास्थ्य अधिकृत महेशकुमार पुरी सेवा निवृत्त भएपछि १ महिनादेखि प्रमुख विहीन बनेको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक (अधिकृतस्तर छैठौं) घर्तीलाई शाखा प्रमुखको जिम्मेवारी दिइएको हो।
सामान्यतयाः विषयगत शाखाका प्रमुखहरुको तोक्ने हेरफेर गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने भएपनि वरीयता मिचेरै घर्तीलाई शाखा प्रमुख बनाउनु पर्ने भएपछि यो विषयले कार्यपालिका बैठकमा प्रवेश पाएको हो। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखका लागि सातौँ तहको अधिकृत दरबन्दी भएपनि तत्कालका लागि सातौँ तहको जनस्वास्थ्य अधिकृत उपलब्ध हुने सम्भावना नभएपछि छैटौँ तहका घर्तीलाई शाखा प्रमुख बनाउने निर्णय भएको हो।
छैटौँ तहका जनस्वास्थ्य निरीक्षक गुर्भाकोट नगरपालिकामा ८ जनाको संख्यामा रहेका छन। जसमध्ये पहिलो वरियतामा रहेका जनस्वास्थ्य निरीक्षक लोकेन्द्र बहादुर डाँगीलाई फरक राजनीतिक आस्था भएकै कारण शाखा प्रमुख नबनाइएको जानकारहरु बताउँछन्। गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकार रहेकोले काँग्रेस निकट घर्तीले शाखा प्रमुखको जिम्मेवारी पाएका हुन्। यद्यपि कार्यपालिका बैठकमा वडा नं. ६ का अध्यक्ष गोविन्द वलीले पहिलो वरियतामा रहेका डाँगीलाई प्रमुख नबनाई घर्तीलाई बनाउनु पर्ने प्रस्ताव गर्दा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्षहरुले समेत समर्थन गरेका थिए। तसर्थ कार्यपालिकाले सर्वसम्मत रुपमा घर्तीलाई शाखा प्रमुख बनाउने निर्णय गरेको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले जानकारी दिए। पहिलो वरीयतामा रहेका डाँगी भने माओवादी निकट कर्मचारी हुन्।
पहिलो बरियतामा रहेका डाँगीको २०७३ असारमा हेल्थ असिस्टेन्ट बढुवा तथा पदस्थापना भएको थियो। उनी २०७३ साउनमा स्तरवृद्धि भई अधिकृत छैटौँ भएका थिए। शाखा प्रमुखको जिम्मेवारी पाएका घर्ती भने २०७३ पौषमा बढुवा तथा पदस्थापना भएका थिए। घर्तीको २०७३ माघमा स्तरवृद्धि भई अधिकृतस्तर छैटौँ भएका हुन। पदस्थापनाको मितिले घर्ती भन्दा डाँगी ६ महिना र अधिकृतस्तर छैटौँमा स्तरवृद्धि हुँदा ७ महिना सिनियर हुन।
कानुन मिचेरै घर्तीलाई शाखा प्रमुख
वरीयता मात्रै होइन घर्तीलाई शाखा प्रमुख बनाउने गुर्भाकोट नगर कार्यपालिकाको निर्णय कानून विपरित समेत देखिएको छ। नेपाल स्वास्थ्य सेवा ऐनको दफा १५ को १ मा स्वास्थ्य सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा मात्र बढीमा १ वर्ष सम्मको लागि त्यस्तो रिक्त वा पदाधिकार रहेको पदभन्दा एकतह मुनीको सम्बन्धित समूह, उपसमूहका कर्मचारीलाई बढीमा १ वर्ष सम्मका लागि कायम मुकायम मुकरर गर्न सकिने व्यवस्था उल्लेख छ।
यस्तै नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को दफा ४१ मा कायम मुकरर गर्ने आधार उल्लेख गर्दै ऐनको दफा १५ को उपदफा १ को प्रयोजनको लागि सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा कायम मुकायम गर्दा उक्त पदमा बढुवाको लागि योग्यता पुगेका सम्बन्धित समूहका उपलब्ध कर्मचारीहरु मध्ये ज्येष्ठता, कार्य कुशलता तथा शैक्षिक योग्यताको आधारमा कायम मुकायम मुकरर गर्ने व्यवस्था गरिएको छ।
आफैले बनाएको कानूनको समेत पालना गरेन कार्यपालिकाले
घर्तीलाई शाखा प्रमुख बनाउने निर्णय गरेको कार्यपालिकाले आफैले बनाएको कानून समेत मिचेको छ। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ ऐन २०७५ को दफा १८ मा संस्थाको प्रमुख तोक्दा सो संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ज्येष्ठ कर्मचारीलाई तोकिने प्रष्ट व्यवस्था छ। त्यसैले घर्तीलाई शाखा प्रमुख बनाउने नगर कार्यपालिकाको निर्णय स्वास्थ्य तथा सरसफाइ ऐन २०७५ को दफा १८ को उपदफा १ विपरित देखिएको छ।