सुर्खेत। हरितालिका तीजका अवसरमा गुर्भाकोटका विभिन्न वडाहरुमा तीज विशेष कार्यक्रमहरु हुने भएका छन्। गुर्भाकोट नगरपालिकाको वडा नं. ४ र ८ मा भदौ २९ गते गते तीज विशेष कार्यक्रम अन्तर्गत तीज नृत्य प्रतियोगिता राखिएको छ। यस्तै गुर्भाकोट नगरपालिका वडा नं. ११ मा पनि शुक्रवार नै तीज विशेष कार्यक्रम हुने भएको छ।
तीज विशेष कार्यक्रम अन्तर्गत वडा नं. ४ ले आफ्नो कार्यालय प्रांगनमै तीज नृत्य प्रतियोगिताको आयोजना गरेको छ। गुर्भाकोट ४ का वडाध्यक्ष राम डाँगीका अनुसार कार्यक्रममा उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। यस्तै वडा नं. ८ ले आफ्नो तीज विशेष कार्यक्रम अन्तर्गतको तीज नृत्य प्रतियोगिता मेहेलकुना स्थित सिटीहलमा आयोजना गरेको छ। वडाध्यक्ष किरण कुमार वि.क.का अनुसार मेहेलकुना पवित्रबजार टोल विकास संस्थाको सह आयोजनामा गरिने तीज नृत्य प्रतियोगिताका सहभागीहरु मध्ये प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कारको व्यवस्था समेत गरिएको छ।
गुर्भाकोट ११ ले भने यसअघि भदौं २६ गते वडा कार्यालय अगाडि रहेको चौतारोमा तीज विशेष कार्यक्रम आयोजना गर्ने सूचना जारी गरेको थियो तर वर्षातका कारण २६ गते कार्यक्रम हुन नसकेपछि २९ गते गते आयोजना गरिएको वडाध्यक्ष राजन बि.सी.ले जानकारी दिए।