सुर्खेत। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत महेश कुमार पुरीको बिदाई गरिएको छ। साउन ३२ देखि स्वेच्छिक अवकाश लिएका पुरीको आइतबार पालिकामा आयोजित एक कार्यक्रमकैबीच बिदाई गरिएको हो।
सातौँ तहका अधिकृत रहेका पुरीले २०७६ सालदेखि स्वास्थ्य शाखा सम्हाल्दै आएका थिए।
बिदाई कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले सेवा निवृत्त भएका पुरीले कोरोना महामारीका बेला स्वास्थ्य शाखाको सफल कमाण्ड सम्हालेको आफूले सुनेको बताउँदै सेवा निवृत्त जीवन सुखमय होस भन्ने कामना गरे।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले आफ्नो लामो जागिरे जीवनबाट सिकेका सिकाइ र अनुभव गुर्भाकोट नगरपालिकालाई पुँजीको रुपमा दिएर गएको पुरीप्रति कृतज्ञता ज्ञापन गरिन।
बिदाई समारोहको अध्यक्षता गरेका गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले ४ वर्ष पालिकाको स्वास्थ्य शाखाको कमाण्ड सम्हालेका पुरीलाई बिदाई गर्दा नरमाइलो लागेको बताए। वियोगान्त कथाहरु मन दुखाउने खालका हुने भएपनि पुरीले गुर्भाकोट नगरपालिकालाई दिएको योगदान भने सदा स्मरणीय हुने मेयर पुनको भनाई थियो।
कार्यक्रममा सेवा निवृत्त जनस्वास्थ्य अधिकृत पुरीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाए। उनले पालिकामा रहुन्जेल सबैखाले सहयोग गर्ने नगर कार्यपालिका र सहकर्मी कर्मचारीहरुलाई धन्यवाद दिए।
बिदाई समारोहमा विभिन्न स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मी, पालिकाका विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।
को बन्ला शाखा प्रमुख?
पुरी सेवा निवृत्त भएसँगै गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाको नेतृत्व कसले गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ। पुरीको बिदाई समारोहमा मन्तव्य राख्दै नगर उपप्रमुख मैना वि.क.ले शाखा प्रमुखले स्वेच्छिक अवकाश लिएपछि शाखाको नयाँ नेतृत्वमा गुर्भाकोट नगरपालिका गम्भिर बन्नु पर्ने धारणा राखेकी थिइन्।
स्वास्थ्य शाखा प्रमुख सातौँ तहको हुने र तत्काल सातौँ तहको जनस्वास्थ्य अधिकृत पालिका आउने सम्भावना नभएकाले छैटौँ तहका जनस्वास्थ्य निरीक्षकले गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाको कमाण्ड सम्हाल्नु पर्ने छ। पालिकामा रहेका जनस्वास्थ्य निरीक्षक लोकेन्द्र डाँगी सबैभन्दा बरिष्ठ भएका कारण आफूले शाखाको नेतृत्व गर्न पाउनु पर्ने दाबी गरिरहेका छन्। डाँगी हाल सहारे स्वास्थ्य चौकीका इन्चार्ज छन्। दोश्रो वरियतामा रहेका पूर्णबहादुर घर्तीले भने आफूले शाखा प्रमुख पाउनु पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसँग संवाद थालेको श्रोतले जानकारी दियो। घर्ती हाल गुमी स्वास्थ्य चौकीको इन्चार्ज छन्।
श्रोतले बताए अनुसार वरियतामा पहिलो नम्बरमा भएता पनि माओवादी निकट कर्मचारी भएका कारण डाँगीलाई शाखा प्रमुख बनाउने सम्भावना छैन। दोश्रो वरियतामा रहेका घर्ती काँग्रेस निकट रहेको र गुर्भाकोट नगरपालिकामा नेपाली काङ्ग्रेसको सरकार भएका कारण घर्तीले नै शाखा प्रमुखको जिम्मेवारी पाउने छन्। यद्यपी घर्तीलाई जिम्मेवारी दिदा अदालतको स्टे अर्डरले रोक्न सक्ने चिन्ता बढेको समेत श्रोतको भनाई छ।