सुर्खेत। नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन मेहेलकुना इकाइले दृष्टिबन्धक, रोक्का, फुकुवालाई पुनः आलोपालो प्रणालीमा लैजाने निर्णय गरेको छ। इकाईको शनिवार मेहेलकुनामा सम्पन्न चौथो साधारण सभाले मालपोत कार्यालयमा वित्तिय संस्था मार्फत हुने दृष्टिबन्धक, रोक्का, फुकुवालाई पुनः आलोपालो प्रणालीमा लैजाने निर्णय गरेको हो।
यसअघि पनि मालपोत कार्यालय मेहेलकुनामा आउने वित्तिय संस्थाहरुका रोक्का फुकुवा आलोपालो प्रणालीमा सञ्चालन गरिएको थियो। वित्तिय संस्थाका प्रतिनिधिहरुले लेखापढी व्यवसायीसँग चर्को कमिशन माग्न थालेपछि आलोपालो प्रणाली सुचारु गरिएको हो।
आलोपालो प्रणाली अनुसार वित्तिय संस्थाका दृष्टिबन्धक, रोक्का, फुकुवा गर्ने पत्रहरु अब मालपोत कार्यालय अगाडि रहेको लेखापढी कानून व्यवसायी एशोसियसनको काउन्टरमा दर्ता हुने र समिति मार्फत भू–सेवा सञ्चालकहरुले पालो अनुसार लिखत तयार गर्ने छन्। आलोपालो प्रणालीलाई नमान्ने र वित्तिय संस्थाहरुसँग सेटिङमै काम गर्ने लेखापढी व्यवसायीलाई आचारसंहिता बमोजिम कारवाही गर्ने निर्णय पनि साधारण सभाले गरेको छ।
साधारण सभाले आउँदो मंसिर भित्र चुनावी अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको इकाई मेहेलकुनाका अध्यक्ष भद्रप्रसाद जैसीले जानकारी दिए। जैसीका अनुसार आलोपालो प्रणाली भदौ १७ गते आइतबार देखि सुरु हुनेछ।