सुर्खेत। इलाका प्रहरी कार्यालय मेहेलकुनाका लागि गुर्भाकोट–८ खटाङका स्थानीयवासीले चार रोपनी जग्गा दान गरेका छन्। मेहेलकुनामा इलाका प्रहरी कार्यालय बन्ने प्रक्रिया सुरु भएसँगै गुर्भाकोट नगरपालिकाले उपयुक्त स्थानको खोजी गरेको थियो।
पालिकाले प्रहरीका लागि ८ नं. वडा कार्यालय भवन र वडा कार्यालयले चर्चेको जग्गामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने तयारी गरेको भएपनि स्थानीयहरुले खटाङमा निशुल्क जग्गा दान गरेपछि इलाका प्रहरी कार्यालय खटाङमा बन्ने भएको हो। यद्यपि जग्गादाताहरुले दान गरेको उक्त जग्गा इलाका प्रहरी कार्यालय प्रयोजनको लागि भएपनि जग्गाको रजिष्ट्रेशन पास भने गुर्भाकोट नगरपालिकाको नाममा गरिदिने गरि सहमति गरेको ८ नं. वडाका अध्यक्ष किरण कुमार वि.कले जानकारी दिए। वडाध्यक्ष वि.क.का अनुसार इलाका प्रहरी कार्यालय प्रयोजनका लागि गुर्भाकोट नगरपालिकालाई निशुल्क जग्गा दान गर्नेहरुमा गुर्भाकोट–८ बस्ने भिमी कामी (९३३ वर्गमिटर), सोही ठाउँ बस्ने नदे कामी (१०२६ वर्गमिटर) र गुर्भाकोट–८ कै नरेन्द्र वि.क. (९० वर्गमिटर) रहेका छन्।
इलाका प्रहरी कार्यालय स्थापनाको प्रक्रिया सुरु भएको एकसाता पनि नबित्दै स्थानीयहरुले निशुल्क रुपमा कुल २०४९ वर्गमिटर अर्थात ४ रोपनी जग्गा निशुल्क दान गरेकोमा ८ नं. वडा कार्यालयले जग्गादाताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ। बुधवार वडा कार्यालयमा भएको छलफलमा जग्गादाताहरु दान गर्न सहमत भएका हुन। जग्गाधनीहरुलाई निशुल्क जग्गा दानका लागि सहमत गराउन स्थानीय कृष्ण वि.क.ले सहजीकरण गरेका थिए। छलफलपछि वडा कार्यालयमै जग्गादाताहरु र वडाका सचिव चिरञ्जीवी गौतमले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन र प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री पालिका बाहिर रहेका कारण दानमा प्राप्त उक्त जग्गाको रजिष्ट्रेशन पासभने भएको छैन। कार्यपालिका सदस्य चितेन्द्र वि.कका अनुसार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत आएपछि दानमा प्राप्त उक्त जग्गा पालिकाको नाममा ल्याउने प्रक्रिया सुरु हुनेछ।