सुर्खेत। गुर्भाकोट नगरपालिकाको वडा नं. ६ स्थित पारथरी सामुदायिक वनमा वृक्षारोपण सप्ताह सुरु गरिएको छ। सामुदायिक वनमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच कर्णाली प्रदेश सभा सदस्य बलिमाया बुढाले वृक्षारोपण सप्ताहको उद्घाटन गरिन।
सामुदायिक वनको संरक्षण संवर्द्धन र सदुपयोग, जलवायु अनुकुलित जीवनयापनमा सहयोग भन्ने मूल नाराका साथ सबै उपभोक्ताहरुको स्वतःस्फूर्त सहयोगमा वृक्षारोपण गर्न लागिएको पारथरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश रोकायले बताए। रोकायका अनुसार भू तथा जलाधार संरक्षण कार्यालय सुर्खेत र सव डिभिजन वन कार्यालय दशरथपुरबाट निशुल्क रुपमा वृक्षरोपणका लागि बिरुवा उपलब्ध भएको हो।
कार्यक्रममा गुर्भाकोट ६ का अध्यक्ष गोविन्द वलीले वन जोगाउँदा जलवायु परिवर्तनका असरहरूबाट बच्न सकिने धारणा राख्दै पारथरी सामुदायिक वनले सुरु गरेको वृक्षारोपण सप्ताह वडाभित्रका अन्य सामुदायिक वनहरुले समेत अनुशरण गर्नुपर्ने बताए। वलीका अनुसार वीरेन्द्रनगर र दशरथपुरबाट निशुल्क प्राप्त गरिएका विरुवाहरु वृक्षारोपण क्षेत्रसम्म पुर्याउन नगरपालिकाले ढुवानी वापतको सहयोग गरेको छ।
मंगलबार देखि सुरु भएको वृक्षारोपण सप्ताह साउन ८ गते सम्पन्न हुनेछ।