सुर्खेत। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कृषिका विकास नै नभएको भन्न नमिल्ने तर सोचे अनुसार विकास भने नभएको बताएका छन्। गुर्भाकोट नगरपालिकाको वडा नं. ४ स्थित पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले भेरी करिडोरका अधिकांश खेतीयोग्य जमिनमा ३ बाली सम्मको खेती गर्न थालिएको बताए।
विगतमा उत्पादन हुँदैन भनेर छोडिएका जमिनमा अहिले मकै, धान र गहुँ खेती गर्न थालिएको भन्दै मन्त्री शर्माले कृषिका क्षेत्रमा सोचे अनुसार प्रगति हासिल गर्न नसकेको भने स्वीकार गरे। कृषि उत्पादन बढाउन र कृषकहरुलाई प्रोत्साहन स्वरुप उत्पादनमा आधारित अनुदानका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको मन्त्री शर्माले जानकारी दिए।
कार्यक्रममा गुर्भाकोट वडा नं. ४ का अध्यक्ष रामबहादुर डाँगीले आफ्नो वडाबाट दैनिक १५ सय लिटर दुध बजारमा जाने गरेको बताउँदै आफ्नो वडालाई कृषि पकेट क्षेत्रकै रुपमा विकास गर्ने कार्यक्रमहरु ल्याइदिन मन्त्री शर्मालाई अनुरोध गरे।
गुर्भाकोट वडा नं. १ का अध्यक्ष रामबहादुर शाही, गुर्भाकोट ५ का अध्यक्ष लालबहादुर पुन र गुर्भाकोट ९ का अध्यक्ष ज्ञानबहादुर खत्रीले मन्त्री शर्मा समक्ष आ आफ्नो वडाको कृषि क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिदिन मन्त्री शर्मा समक्ष लिखित तथ मौखिक आग्रह गरे। वडा नं. ५ का अध्यक्ष पुनले कृषक र उपभोक्ताबीच विचौलियाले निर्धारण गर्ने बजार मूल्यले कृषक र उपभोक्ता दुवै मारमा परेकाले कृषि उत्पादनको बजारीकरणका लागि विचौलिया रहित प्रणालीको विकास गर्न नीतिगत व्यवस्थाका लागि आग्रह गरे।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयकारी भूमिकाबाट काम गर्न सके कृषिका क्षेत्रमा गरिने कामहरु प्रभावकारी हुनसक्ने आवश्यकता औल्याइन।
कार्यक्रम संस्थाका अध्यक्ष महेश वलीको अध्यक्षतामा सम्पन्न भएको हो।