सुर्खेत। गुर्भाकोट नगरपालिकाले पालिकाका मुख्य बजार क्षेत्र मेहेलकुना र बोटेचौरमा जडान गरेका सिसी क्यामेरा १ वर्ष नपुग्दै बेकामे भएका छन्। चालु आर्थिक वर्षको सुरुवातमा पालिकाले १५ लाख खर्चिएर मेहेलकुना र बोटेचौरमा १० ओटा क्यामेरा जडान गरेको थियो।
पालिकाका मुख्य दुई बजार क्षेत्र मध्ये मेहलकुना बजारमा ५ वटा, बोटेचौर बजारमा ४ ओटा र बोटेचौर र मेहेलकुना बजारको बीचमा पर्ने खटाङ्ग चोकमा एउटा सीसीक्यामेरा लगाइएको थियो। जसमध्ये मेहेलकुना अस्पताल नजिक र मेहेलकुना बसपार्क नजिकको क्यामेरा मात्रै चालु हालतमा रहेका छन्।
सिसी क्यामेराको मोनिटर गरेको मेहेलकुना प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक कृष्ण खड्काले जडान गरेको ५–६ महिना सम्म १० वटै क्यामेराहरु राम्रोसँग चलेको त्यसपछि भने क्रमशः क्यामेराहरु चल्न बन्द भएर हाल २ वटा क्यामेरा मात्रै चालु हालतमा रहेको जानकारी दिए। खड्काले सिसी क्यामेरा मर्मत गर्नुपर्ने विषयमा आफूले पालिकामा समेत पटक पटक जानकारी गराइसकेको बताए।
क्यामेरा जडान र सप्लाईको जिम्मेवारी पाएको वीरेन्द्रनगर स्थित श्रेष्ठ कम्प्युटर सप्लायर्सका सञ्चालक सुशिल श्रेष्ठले आफूहरुले इस्टमेट अनुसार नै काम गरेको बताए। तर लामो तार तानेर कनेक्सन गरेका कारण समस्या आई क्यामेराहरु बन्द रहेको श्रेष्ठको भनाई छ। उनका अनुसार नयाँ इष्टमेट बनाएर पोलमै विद्युतको पोइन्ट दिन सके वा सोलार सिस्टमबाट सञ्चालन गर्न सके क्यामेराहरु पुनः सुचारु हुनसक्ने बताए।
यसअघि सीसीक्यामेरा राखेका स्थानमा सडक बत्ती नहुँदा रातिका दृष्यहरू अस्पष्ट हुने गरेका कारण सडक बत्तिको आवश्यकता औंल्याइएको थियो।
सिसिटिभी क्यामेरामा दिउँसोका दृष्यहरू प्रष्ट देखिने भएपनि रातिमा सडक बत्तिको उज्यालो नभएकै कारण दृष्यहरू अस्पष्ट हुने, सवारी साधनका नम्बर प्लेट नदेखिने समस्या थियो। तर उक्त समस्या समाधानका लागि सडक वत्तिको व्यवस्था नहुँदै क्यामेरा चल्न छोडेपछि पालिकाको १५ लाख लगानी खेर गएको छ।