सुर्खेत। गुर्भाकोट नगरपालिकाको लागत साझेदारीमा महिलाहरुको लागि अटो रिक्सा हस्तान्तरण गरिएको छ। गुर्भाकोट नगरपालिकाको उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाले सोमवार पालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरि ३ जना महिलाहरुलाई अटो रिक्सा हस्तान्तरण गरेको हो।
यसरी अटो रिक्सा प्राप्त गर्ने लाभग्राहीहरुमा गुर्भाकोट १० की सुमन जि एम, गुर्भाकोट ८ की शुस्मिता बुढा र गुर्भाकोट ६ की रेश्मा वि.क रहेका छन्।
गुर्भाकोट नगरपालिकाको उपप्रमुख उद्यमशीलता तथा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पालिकाको प्रति अटो रिक्सा २ लाख सहयोग र शुभ बचत तथा ऋण सहकारी संस्थाको आर्थिक समन्वयमा तीनओटा इलेक्ट्रिक अटो रिक्सा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले हस्तान्तरण गरे। कार्यक्रममा नगर प्रमुख पुनले उद्यमशीलतालाई जोड दिन पालिकाको तर्फबाट २ लाख अनुदान दिइएको र बाँकी रकम नियमित श्रम गरेर सहकारी संस्थाको साँवाब्याज भुक्तानी गर्न आग्रह गरे। वातावरणमैत्री पालिका बनाउने उद्देश्यका साथ इलेक्ट्रिक अटो रिक्सालाई प्राथामिकता दिएको भनाई राखेका मेयर पुनले अनुदानबाट प्राप्त उद्यमशीलताका साधनहरुको सही सदुपयोग गर्न पनि लाभग्राहीहरुलाई आग्रह गरे।
प्रति अटो रिक्सा ८ लाख ४० हजार बजार मूल्य पर्ने अटो रिक्सा खरिदका लागि गुर्भाकोट नगरपालिकाले २ लाख अनुदान र बाँकी रकमको दायित्व शुभ बचत तथा ऋण सहकारी संस्थाले लिएको र सहकारीले दायित्व लिएको रकम लाभग्राहीहरुले २ वर्षमा तिरिसक्नु पर्ने संस्थाका कोषाध्यक्ष कृष्णप्रकाश आरसीले बताए। संस्थाले हायर पर्चेज लोन नभई आफ्ना सदस्यहरुलाई दिने साधारण ऋणबाट अटो रिक्साको दायित्व लिएको कोषाध्यक्ष आरसीको भनाई छ।
कार्यक्रममा अटो रिक्सा प्राप्त गर्ने लाभग्राहीहरुका तर्फबाट सुमन जि.एम, अटोरिक्सा सप्लायर्स कम्पनी कर्णाली अटोका मदन बुढा, देउती माला अटो व्यवसायी संघका अध्यक्ष पूर्णबहादुर वि.क, उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाकी प्रमुख आइती चौधरी र गुर्भाकोट–१३ का अध्यक्ष मधु गुरुङले मन्तव्य राख्नु भएको थियो।