सुर्खेत। गुर्भाकोट नगरपालिकाले २० जना असहाय बालबालिकालाई आवासीय सुविधा सहित पढाउन सुरु गरेको छ। नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार १४ वटै वडाबाट छनौट गरिएका २० जना बालबालिकालाई आवासीय सुविधा सहित पढाउन थालिएको हो।
गुर्भाकोट नगरपालिकाको हामी अभिभावक कार्यक्रम अन्तर्गत छनौट गरिएका २० जना बालबालिकालाई नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बडाखोलीमा आवासीय सुविधा सहित पठनपाठन गराइने गुर्भाकोट नगरपालिकाले जनाएको छ। हामी अभिभावक कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिकाले अभिभावकीय दायित्व लिएका २० जना बालबालिकाले कक्षा १२ सम्म अध्ययन गर्न कुनैपनि शुल्क तिर्नुपर्ने छैन।
असहाय बालबालिकाका लागि निशुल्क खाना, खाजा सहित व्यवस्था गरिएको आवासीय छात्रावासको गत सोमबार एक कार्यक्रमकाबीच मावि बडाखोलीलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले गुर्भाकोट नगरपालिकाले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेर सराहनीय काम गरेको बताए। नगरपालिकाले सुरु गरेको हामी अभिभावक कार्यक्रमको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट गर्न सकिने सबैखाले सहयोग गर्ने पनि मन्त्री पोखरेलले प्रतिवद्धता जनाए।
हामी अभिभावक कार्यक्रम सञ्चालनका लागि असहाय बालबालिका छनौटको मापदण्ड बनाई छात्रावास सञ्चालन तथा व्यवस्थापन समितिले असार ३ गते २० जना असहाय बालबालिकाको नामावली प्रकाशन गरेको थियो। उक्त नामावलीमा बुबाआमा दुवैको मृत्यु भएका गुर्भाकोट ७ का ११ वर्षीय सनम बश्याल र १३ वर्षीय दिपक वि.क रहेका छन्। यसैगरी आमा पूर्ण अपांग भएकी गुर्भाकोट ७ कै रुपा गन्धर्वलाई पनि हामी अभिभावक कार्यक्रम अन्तर्गत आवासीय पठन पाठनका लागि समावेश गरिएको छ। बुबाको मृत्युपछि आमाको अर्कैसँग विवाह भएका गुर्भाकोट ७ कै २५ वर्षीय भरत वि.कलाई पनि आवासीय सुविधा सहित बडाखोली विद्यालयमा राखिएको छ।
आवासीय सुविधा सहित हामी अभिभावक कार्यक्रमका लागि छनौट भएका अन्य बालबालिकाहरू मध्ये बुवाको मृत्यु आमाको स्वास्थ्य अवस्था कमजोर भएकी गुर्भाकोट ४ की १३ वर्षीय निरुता वि.क., आमाको मृत्युपछि बुबाको अर्को विवाह भएका गुर्भाकोट २ का १३ वर्षीय युनिस डाँगी, आमाको मृत्यु बुवा जेलमा भएकी गुर्भाकोट ९ की ९ वर्षीय संगिता दमाई, ११ वर्षीया विनिता दमाई र १२ वर्षका कृष्ण दमाई, बुवाको मृत्यु आमाको अर्को विवाह भएका गुर्भाकोट ४ का १३ वर्षीय गोपाल कामी र १३ वर्षकै विनिता वि.क., आमाको मृत्यु बुबाको अर्को विवाह भएकी गुर्भाकोट १३ की १४ वर्षीय पवित्रा वि.क., बुबाको मृत्यु आमाको अर्को विवाह भएकी गुर्भाकोट ६ की ललिता परियार, बुबाको मृत्यु अति विपन्न गुर्भाकोट १३ की ११ वर्षीय प्रतिक्षा सुनार र १२ वर्षकी पुजा सुनार, बुबाको मृत्यु आमाको अर्को विवाह भएका गुर्भाकोट ६ का १३ वर्षीय टेकेन्द्र वि.क., गुर्भाकोट ४ की १२ वर्षीय यलिसा वि.क , १० वर्षीय गीता वि.क. र ९ वर्षीय गीता परियार र गुर्भाकोट १३ का १३ वर्षीय प्रकाश खत्री रहेका छन्।
छात्रावास हस्तान्तरण कार्यक्रममा बालबालिकाका आफन्तहरूसँग संवाद गर्दै गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बालबालिकाको अभिभावकीय दायित्व गुर्भाकोट नगरपालिकाले लिएकोले उनीहरुको पठनपाठन प्रभावित हुनेगरि विद्यालय वा छात्रावासबाट बाहिर नलैजान आग्रह गरे। मावि बडाखोलीका प्रधानाध्यापक ढालबहादुर खत्रीले विद्यालय र छात्रावासमा बालबालिकाका आफन्तहरुले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने जानकारी दिए।
हामी अभिभावक कार्यक्रमका लागि चालु आर्थिक वर्षमा गुर्भाकोट नगरपालिकाले महिला तथा बालबालिका शाखाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण उपक्षेत्र अन्तर्गत आन्तरिक श्रोतबाट ३० लाख बजेट विनियोजन गरेको थियो।
स्थानीय तहको दोश्रो निर्वाचनबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि पदभार ग्रहण गर्दै मेयर पुनले पालिका भित्र रहेका असहाय तथा अनाथ बालबालिकालाई माध्यामिक तहसम्म आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए।