सुर्खेत। वैदेशिक रोजगारीका लागि सिङ्गापुर र माल्टा जाने सपना बोकेका गुर्भाकोटका युवाहरूले आफूहरू ठगिएको बताएका छन्। राम्रो देशमा राम्रो पैसा कमाउने अभिलाषा बोकेर केही रकम र पासपोर्ट बुझाएका गुर्भाकोटका युवाहरुले लामो समय प्रतिक्षा गर्दा पनि काम नभएपछि ठगिएको महसुस गरेका छन्।
यसरी माल्टा र सिङ्गापुर जाने भनेर पासपोर्ट बुझाएका युवाहरुको संख्या ३० जनासम्म भएको पीडित मध्येका एक छवि खत्रीले बताए। गुर्भाकोट–९ बाट मात्रै छवि खत्री, तुलाराम बुढा, हरि वली, लक्ष्मी पुनमगर, शेरबहादुर पुन, खुमबहादुर वली लगायतका युवाहरुले सिङ्गापुर जानका लागि प्रतिव्यक्ति २ लाख ५० हजार र माल्टा जानका लागि प्रतिव्यक्ति २ लाख ६७ हजार रकम बुझाएका थिए। उनीहरुका अनुसार ११ जनाले सिङ्गापुरका लागि र १९ जनाले माल्टाका लागि पैसा र पासपोर्ट बुझाएका थिए। उनीहरु सबैले रकम गुर्भाकोट–९ कै कमानसिं कामीको ग्लोबल आइएमई बैंकको बचत खातामा जम्मा गरेका छन्। कमानसिंले भने उक्त रकम आफूले आफ्ना जेठान नाता पर्ने दाङ्गका यामबहादुर वि.क.को खातामा पठाएको दाबी गरेका छन्। यामबहादुर वि.क. र कमानसिं कामी दिल्लीमा रहेको र आफूहरुले पटक पटक पैसा फिर्ता माग्दा समेत नदिएपछि न्याय खोज्दै हिँडेको पीडितहरूले बताएका छन्।
(पीडितहरुले ठगीमा परेको सम्बन्धी रेकर्ड गराएको बयान हामी प्राविधिक कार्य सकिएपछि प्रसारण गर्नेछौँ।)