सुर्खेत। गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ। आइतवार सिटीहलमा बसेको १३ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको हो।
नगर सभाका अध्यक्ष एवं गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले उत्पादनमुलक क्षेत्रमा युवा सहभागिता बढाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रीत रहेको बताए। नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुनले युवाको जवानी, गुर्भाकोटमा लगानी भन्ने नाराका साथ कृषिजन्य उत्पादनमुलक क्षेत्रमा युवा सहभागिता बढाइने बताए। विदेशबाट रोजगारी गरेर फर्किएका युवालाई लक्षित गरि उत्पादनमा आधारित अनुदान सहितको अभिमुखिकरण तथा लाभका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि तथा पशुपालनलाई प्राथामिकतामा राखेको नीति तथा कार्यक्रममा पशुपंक्षी बीमा सम्बन्धी सचेतना बढाइने उल्लेख छ। सभामा सदस्यहरुले दिएका सुझाव सहित नीति कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ।