सुर्खेत। गुर्भाकोट नगरपालिकाको अनुदानमा प्राप्त गुमी स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स दुरुपयोग गरेको पाइएको छ। एम्बुलेन्स शनिवार गुर्भाकोट ८ को तरकारी पसल अगाडि केरा लोड गरिरहेको अवस्थामा फेला परेको थियो।
उक्त एम्बुलेन्स तरकारी पसल अगाडि सामान लोड गर्दै गरेको अवस्थामा भेटिएको तस्बिर सार्वजनिक भएपछि गुमी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक पूर्ण घर्तीले उक्त एम्बुलेन्स तरकारी नभइ सुनौलो १००० दिनका आमा र बच्चाहरुका लागि पोषण कार्यक्रम अन्तर्गत फलफूल, सर्वोतम पिठो लगायतका पोषण सामाग्री बोकेर स्वास्थ्य संस्थामा गएको प्रष्टिकरण दिएका छन्।
तर गुर्भाकोट नगरपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७६ ले भने एम्बुलेन्सले स्वास्थ्य संस्थाका सामान ढुवानी गर्ने सम्बन्धी कतै कुनै व्यवस्था गरेको छैन। निर्देशिकाको दफा २ को उपदफा घ मा एम्बुलेन्स भन्नाले बिरामी ओसार्ने स्वीकृति प्राप्त गरेको वहान सम्झनु पर्छ र सो शब्दले एम्बुलेन्समा जडित उपकरण, चालक र सहचालक समेतलाई जनाउँदछ भनेर प्रष्ट उल्लेख गरिएको छ। यसैगरी दफा २ को उपदफा झ मा सेवा भन्नाले एम्बुलेन्सले बिरामीलाई दिने सम्पूर्ण सेवा सम्झनुपर्छ भनेर लेखिएको छ। यहाँ बिरामीका लागि सामान ओसार्ने भनेर कहीँकतै कानूनी व्यवस्था भएको छैन।
यसैगरी निर्देशिकाको दफा ७ को उपदफा घ मा एम्बुलेन्स सेवा आकस्मिक सेवा भएकाले त्यसलाई सुचारु बनाइराख्न पहल गर्ने र दफा ङ मा एम्बुलेन्सलाई चौबीसै घण्टा सेवा प्रदान गर्ने हालतमा राख्नुपर्ने उल्लेख गरिएको छ। तसर्थ स्वास्थ्यसँगै सम्बन्धित काममा एम्बुलेन्स प्रयोग गरिएको भन्ने तर्क पूर्णतः कानून विपरित भएको पाइएको छ।
यहाँ हेर्नुहोस्, गुर्भाकोट नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७६