गुर्भाकोट ८ मा दोश्रो चरणको पुर्जा वितरण, १ सय ६७ जनाले पाए भूस्वामित्व

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट ८ मा दोश्रो चरणको जग्गा धनी पुर्जा वितरण भएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले शनिवार अव्यवस्थित बसोवास अन्तर्गत गुर्भाकोट ८ को मेहेलकुनामा दोश्रो चरणको जग्गाधनी पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको हो।

२०३६ सालमा नापनक्सा भएका तर जग्गाधनी पुर्जा प्राप्त नगरेका १ सय ६७ जानलाई पुर्जा वितरण गरिएको गुर्भाकोट–८ का वडाध्यक्ष किरण कुमार वि.कले बताउनु भयो।

जग्गाधनी पुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले आफ्नो कार्यकाल ३ वर्षको भएता पनि २ वर्ष थप गर्न सकिने व्यवस्था अनुरुप सरकारले विश्वास गरे गुर्भाकोट लगायत सुर्खेत जिल्लाका सबै क्षेत्रहरुका नागरिकलाई ५ वर्ष भित्र जमिन माथिको स्वामित्व प्राप्त गर्ने दिशामा आयोग अघि बढेको बताए।

पुर्जा वितरण कार्यक्रमका सभाध्यक्ष गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जग्गाधनी पुर्जा प्राप्त गर्ने जग्गा धनीहरूलाई बधाई दिदै जग्गा प्राप्ति गर्दा जग्गाधनीले दिनुपर्ने राजश्व घटाउन आफूले निरन्तर पहल गरेको र आयोगका तर्फबाट पनि राजश्व घटाउन पहल हुने विश्वास व्यक्त गरे।

गुर्भाकोट –८ का वडाअध्यक्ष वि.कले पुर्जा वितरण समारोहका सबैलाई स्वागत गर्दै आफ्ना वडावासीलाई ४ दशक पछाडि नै भएपनि भूमि माथिको स्वामित्व हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे। 

कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क, वडा नं. ४ का अध्यक्ष रामबहादुर डाँगी, वडा नं. ६ का अध्यक्ष गोविन्द वली, वडा नं. ७ का अध्यक्ष बासुदेव शर्मा लगायतको उपस्थिति थियो। वितरण समारोहको सञ्चालन गुर्भाकोट नगरपालिकाका प्रशासन अधिकृत चित्रबहादुर ढकालले गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!