Monday, December 9, 2024
spot_img

एक रुपैयाँ भ्रष्टाचारमा मुछिए एक मिनेटमै पद त्याग गर्छुः वडाध्यक्ष शर्मा

सुर्खेत। गुर्भाकोट नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष तुल्सी प्रसाद शर्माले आफू भ्रष्टाचारमा मुछिए एक मिनेटमै पदत्याग गर्ने बताएका छन्। स्थानीय तहमा हुने बेथिति र भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान थिति आन्दोलनका अभियन्ताहरूसँग वडा कार्यालय परिसरमा अन्तरसंवाद गर्दै अध्यक्ष शर्माले आफूले आजसम्म कमाएको इमानको पर्खाल भत्किन नदिने प्रतिवद्धता जनाए।

आफ्नो वडाभित्रका सम्भावित बेथितिबारे आफूलाई बेलाबेलामा सचेत गराउन, सुझाव दिन थिति अभियन्ताहरूलाई आग्रह गर्दै वडा अध्यक्ष शर्माले आफ्नो कार्यकालको १ वर्षको धेरै समय सिकाइमै बितेको बताए। आफूले चालू आर्थिक वर्षमा वडामा विनियोजित बजेट ४८ लाख मध्ये ४४ लाख बराबरको काम सम्पन्न गरेको, केही सम्पन्न हुने अन्तिम चरणमा रहेको र बजेट अभावका कारण ४ लाख बराबरको एउटा योजना कटौती गर्नुपरेको जानकारी दिए। 

थिति अभियन्ताहरुसँगको अन्तरसंवादमा कार्यपालिका सदस्य वर्षा बुढा, वडा सदस्य पहलसिं घर्ती, वडा सदस्य हरिमाया घर्ती , वडा सदस्य धनसरा दमाइ र वडा सचिव विष्णु खड्का रोकाय समेतले आफूहरू बेथिति रोक्न, भ्रष्टाचार नगर्न र सुशासन प्रवर्द्धन गर्न आफूहरू प्रतिवद्ध रहेको बताएका थिए।

स्थानीय तहमा हुने बेथिति र भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान थिति आन्दोलन गुर्भाकोटले पहिलो चरणमा गुर्भाकोट नगरपालिका भित्रका वडा कार्यालयहरुमा साक्षात्कार गरिरहेको र पहिलो चरणको कार्यक्रम अन्तर्गत गुर्भाकोट १२ मा साक्षात्कार गरिएको अभियन्ता मानबहादुर नगालले जानकारी दिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!