गुर्भाकोट नगरपालिकाले चारदिने दादुरा खोप अभियान सञ्चालन गर्ने, टोलटोलमा गएर स्वास्थ्य अवस्था बुझ्न मेयर पुनको निर्देशन

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाले चारदिने दादुरा, रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाका १४ वटै वडामा असार १ गते देखि ४ गते सम्म खोप अभियान सञ्चालन गर्ने भएको हो।

सन २०२६ सम्ममा दादुरा निवारण गर्ने सरकारी लक्ष्य अनुरुप खोप अभियान सञ्चालन गर्न लागिएको गुर्भाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले जानकारी दिए। यस अघि सरकारले सन २०१९ देखि २०२३ सम्म दादुरा निवारण गरिसक्ने लक्ष्य लिएको थियो। उक्त लक्ष्य पुरा हुन नसकेपछि खोपलाई प्रभावकारी बनाउँदै सन २०२६ सम्म देशबाट दादुरा पूर्ण रुपले निवारण गर्ने नयाँ लक्ष्य लिएको छ।

अभियान अन्तर्गत गुर्भाकोट नगरपालिका भित्रका ६ महिनादेखि ५९ महिना सम्मका ४ हजार ९४ जना र ५ वर्षदेखि १४ वर्ष उमेर समूहका ९ हजार ९ सय ३३ गरि १४ हजार २७ बालबालिकालाई खोप लगाइने छ। ४ दिने खोप अभियानका लागि ८६ खोप केन्द्र निर्धारण गरिएको र खोपका लागि १ सय ३३ जना स्वास्थ्यकर्मी र २ सय १६ जना स्वयंसेवक परिचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ।

खोप अभियान सञ्चालन गर्ने पूर्वतयारी स्वरुप बिहीवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुरीले सरकारले यो अभियान कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र बाजुरा, कोशी प्रदेशको सुनसरी र मोरङ्ग, मधेश प्रदेशको महोत्तरी, लुम्बिनी प्रदेशको दाङ्ग र बर्दिया गरि ९ जिल्लामा सञ्चालन हुन लागेको जानकारी दिनुभयो।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले पालिका भित्रका स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति भएको भन्दै स्वास्थ्य संस्थामा बिरामी आउलान् र औषधी दिएर पठाउँला भनेर बस्नुभन्दा टोलटोलमा गएर नागरिकको स्वास्थ्य स्थिति, खोपको अवस्था बुझ्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो। नगरप्रमुख पुनले टोलटोलमा गएर बिरामीको खोजपड्ताल गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी भएको भन्दै यसका लागि छुट्टै सुविधि भत्ताको अपेक्षा नगर्न पनि आग्रह गर्नु भयो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!