सुर्खेत। स्थानीय तहमा हुने बेथिति र भ्रष्टाचार विरुद्धको अभियान–थिति आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत हामीले गुर्भाकोट नगरपालिकाका विभिन्न वडाहरुमा जनप्रतिनिधि र कर्मचारीहरुसँग साक्षात्कार कार्यक्रम चलाइरहेका छौं। वडा कार्यालयहरुमा हुने साक्षात्कारको सुरुमा आफ्नै लागि तयार पारिएका आचारसंहिताका ३ वटा बुँदा बताइसकेपछि मात्र हामी औपचारिक साक्षात्कार सुरु गर्छौं। हाम्रा आचारसंहिताका ३ वटा बुँदा यी हुन।
१. थिति आन्दोलनका अभियन्ताहरुसँग अन्तरसंवाद गरिरहँदा कार्यालयमा सेवाग्राही प्रवेश गरेमा कार्यालयका कर्मचारी वा जनप्रतिनिधिले सेवाग्राहीको काम पहिले गर्नुपर्नेछ।
२. थिति आन्दोलनका अभियन्ताहरुले गोपनीयताको हकसँग सम्बन्धित विषय बाहेक साक्षात्कार कार्यक्रमको अडियो, भिडियो र तस्बिर खिच्न सक्नेछन्।
३. कुनैपनि सरकारी कार्यालयमा बसेर सरकारी कोषबाट भुक्तानी हुने गरि थिति अभियन्ताहरुले पानी, चिया, चिसो, खाना, खाजा केहीपनि खानेछैनन्।
यो ३ नं. बुँदा मंगलवारको एउटा कार्यक्रममा भने रोचक बन्यो। थिति आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत वडा कार्यालयमा साक्षात्कार गर्न हामी १४ नं. वडा कार्यालय गुमी पुग्यौं। २ बजे हामी वडा कार्यालय पुग्दा सेवाग्राहीहरु थिएनन्। हामीले वडाका अध्यक्ष चन्द्रबहादुर घर्ती र सचिव मानबहादुर सिंजालीसँग अन्तरसंवाद सुरु गर्यौं। संवादको सुरुमै हामीले वडा कार्यालयको कुनैपनि कोषबाट खर्च हुने गरि पानी समेत नखाने भएको हुँदा त्यस्तो कुरा अफर नगर्न समेत अनुरोध गर्यौं।
वडाको चालु आर्थिक वर्षमा सम्पन्न कामहरु देखि थिति बेथितिका निकै विषयमा छलफल गर्यौं। बाहिर अलिअलि पानी परिरहेको थियो। मोटर साइकल र अटो रिक्सामा रहेकाहरु पानीमा भिजेर अर्को वडासम्म जान संभव थिएन। त्यसैले हामीले थप समय समेत वडा कार्यालयमै वितायौं। हामीले कुराकानी गरिरहँदा वडासदस्यहरु नन्दाकुमारी बुढा पनि आइसक्नु भएको थियो।
हामी निस्किने तयारी गर्दै थियौं। वडासचिव मानबहादुर सिंजालीले एउटा सानो आग्रह गर्छु, तपाईहरुले स्वीकार गरिदिनु पर्यो भन्नु भयो। मैले भन्नुस न के कुरा? भनेर सोधें।
उहाँले तपाईहरुले भनेजस्तो सरकारी कोषबाट हामी १ पैसापनि खर्च गर्दैनौं। तपाईहरुलाई कुनै बजारिया खाजानास्ता खुवाउन हाम्रो कार्यालय नजिक एउटा पसल पनि छैन। तर हामी अफिसमा घरबाट खाजा लिएर आउँछौं, धेरैबेर बसेर महत्वपूर्ण कुरा गरियो, हामीले घरबाट ल्याएको खाजा बाँडेर खाऔं है।
उहाँको अनुरोध अस्विकार गर्न सकिने खालको थिएन, मैले हुन्छ भने।
वडासदस्य नन्दकुमारी बुढाले हटकेसबाट आलुपराठा झिक्नु भयो, सबैले दुईदुई पिस बाँडेर खायौं। भोकको बेला खाजा मिठो त हुने नै भयो, खाजा भन्दा मिठो शैली घरबाट खाजा बनाएर ल्याउने रहेछ। गज्जब लाग्यो।
त्यतिन्जेल वडासदस्यहरु कमला सुनार र प्रेमा घर्तीपनि आइसक्नु भएको थियो। उहाँहरु सबैले भ्रष्टाचार नगर्ने र बेथिति रोक्ने प्रतिवद्धता जनाउनु भयो। हामीले सामाजिक विकासका लागि हातेमालो गर्छौ भनेर बिदा भयौं।