सुर्खेत। स्थानीय तहमा हुने बेथिति र भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान थिति आन्दोलनले गुर्भाकोटमा पहिलो चरणको कार्यक्रम सुरु गरेको छ। गुर्भाकोट नगरपालिकाको वडा नं. ६, ७ र ८ का जनप्रतिनिधि र कर्मचारीसँग साक्षात्कार गर्दै थिति आन्दोलन सुरु भएको हो।
थिति आन्दोलन गुर्भाकोटको शनिवार बसेको बैठकले पहिलो चरणका कार्यक्रम अन्तर्गत आइतवारदेखि पालिका भित्रका वडा कार्यालयहरुमा गई जनप्रतिनिधि र कर्मचारीसँग साक्षात्कार गर्ने निर्णय गरेको थियो।
साक्षात्कारका क्रममा ३ वटै वडाका जनप्रतिनिधिहरु र कर्मचारीहरुसँग चालु आर्थिक वर्षको बजेट र कार्यक्रमको अवस्थाका बारेमा थिति अभियन्ताहरुले जानकारी माग गरेका थिए। गुर्भाकोट नगरपालिकालाई बेथिति रहित बनाउने अभियानमा जनप्रतिनिधि र कर्मचारीको अहम भूमिका हुने भन्दै थिति अभियन्ताहरुले सरकारी गाडीको दुरुपयोग नगर्न, गरेको भए तत्काल रोक्न, उपभोक्ता समिति गठनमा राजनीति नगर्न, उपभोक्ता समिति मार्फत योजना ठेकेदारलाई नबेच्न सुझाव दिएका थिए।
वडाहरुले निकै कम आकारका बजेट निर्धारण गर्दा काम नदेखिने अवस्था सिर्जना भएकाले प्राथामिकताका आधारमा कम्तिमा ५ लाख सम्मका योजना बनाई टेण्डर प्रक्रिया मार्फत काम गर्दा पारदर्शी हुने पनि अभियन्ताहरुले सुझाव दिएका थिए।
बेथिति विरुद्धको अभियानमा आफ्नो पनि साथ सहयोग रहने भन्दै गुर्भाकोट–८ का वडाध्यक्ष किरणकुमार वि.कले युवाहरुको यो राष्ट्रव्यापी थिति आन्दोलन सुरु गरेकोमा खुसी व्यक्त गरे। गुर्भाकोट–७ का वडाध्यक्ष बासुदेव शर्माले थिति आन्दोलनका अभियन्ताहरु वडा कार्यालयमै आएर जनप्रतिनिधिको काम बारे सुझाव दिनु, गुनासो गर्नु र प्रश्न गर्नु अत्यन्तै रचनात्मक आन्दोलनको प्रारुप भएको जिकिर गरे। त्यसैगरी गुर्भाकोट–६ का वडाध्यक्ष गोबिन्द वलीले युवाहरुले थालेको थिति आन्दोलन आफ्नो पनि आन्दोलन भएको भन्दै सबैखाले साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
पहिलो चरणमा सबै वडा कार्यालयहरुमा साक्षात्कर गरिसकेपछि दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने थिति आन्दोलन गुर्भाकोटले जनाएको छ।