सुर्खेत। स्थानीय तहमा हुने बेथिति र भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियानको एक टोलीले गुर्भाकोट नगरपालिकाको वडा नं. ६, नक्कले स्थित जनसेवा प्रा.वि.को निरीक्षण गरेको छ। केही दिन अगाडि आएको हावाहुरीले विद्यालयको छानो उडाएको सूचना पाएपछि अभियानको टोलीले बिहीवार विद्यालयको निरीक्षण गरेको हो।
विद्यालय निरीक्षणमा गएको अभियान टोलीका सदस्य पदम बाँठाले विद्यालयको भवनको जस्तापाता पुरै हावाले उडाएको जानकारी दिए। बाँठाका अनुसार विद्यालयको छानो गत वर्षपनि हावाहुरीले उडाएपछि नगरपालिकाले दुईलाख भन्दा बढी बजेट विनियोजन गरि नयाँ जस्तापाता खरिद गरी लगाइएको थियो। गतवर्ष लगाइएको नयाँ जस्तापाताको छानो १ वर्ष नबित्दै हावाहुरीले उडाएपछि त्यसको गुणस्तरको अवस्था र विद्यालयको अन्य स्थितिबारे बुझ्न थिति अभियानको टोली विद्यालय निरीक्षणमा गएको हो। नयाँ जस्तापाता लगाएपनि जस्तापाता सुरक्षित तरिकाले नबाँधिएकाले हावाहुरीले उडाएको हुनसक्ने अनुमान गरिएको छ। उडाएको जस्तापाता नै संकलन गरि पुनः प्रयोग गरि छानो हाल्ने प्रक्रिया सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक खत्रीले जानकारी दिए। यसपटक उडाएको जस्तापाता पुनः प्रयोग गरि छानो बनाउन गुर्भाकोट नगरपालिकाको विपद कोषले ३० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
अभियान टोलीका सदस्यहरुले विद्यालयका प्रधानाध्यापक विनोद थापासँग विद्यालयमा विद्यार्थी संख्या र शिक्षक दरबन्दीको बारेमा समेत जानकारी माग गरेका थिए। प्रधानाध्यापक थापाले विद्यालयमा ७९ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए। विद्यालयको विद्यार्थी भर्ना रेकर्ड अनुसार शिसुमा १५ जना, कक्षा १ मा १३ जना, कक्षा २ मा ९ जना, कक्षा ३ मा १५ जना, कक्षा ४ मा १५ जना र कक्षा ५ मा १३ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। तर विद्यालयमा बिहीवार उपस्थित विद्यार्थीको संख्या भने कूल संख्याको आधाभन्दा कम थियो अर्थात झण्डै २८ देखि ३५ जना विद्यार्थी मात्र विद्यालयमा उपस्थित थिए। प्रधानाध्यापक थापाले ७९ मध्ये झण्डै ४० देखि ५० को संख्यामा विद्यार्थीहरु नियमित आउने गरेको बताए।
थिति अभियानका सूर्यदीप रेग्मीले भर्ना रजिस्टरमा विद्यार्थी संख्या बढी देखिनु र विद्यालय उपस्थित हुने विद्यार्थी संख्या कम देखिनुमा विद्यार्थीले खाजा वापत पाउने सुविधा र पाठ्य पुस्तक लगायतका अन्य सुविधाहरुको दुरुपयोग भएको हुनसक्ने आशंका व्यक्त गरे। त्यसो त शिशु देखि ५ कक्षा सम्म सञ्चालन भैरहेको जनसेवा प्रा.वि.मा स्थायी दरबन्दीको एकजना शिक्षक पनि छैन। विद्यालयका प्रअ थापा स्वयं राहत कोटाका हुन भने राहत कोटाकै अर्को एकजना शिक्षक, एकजना शिशु शिक्षक र एकजना विद्यालय कर्मचारीका भरमा विद्यालय चलिरहेको छ।
विद्यालयका तर्फबाट प्रअ थापा र विव्यस अध्यक्ष खत्रीले विद्यालयको शौचालयको अवस्था, शिक्षक दरबन्दीको अवस्था, पानीको महशुल सहुलियत लगायतका विद्यालयका समस्याका बारेमा आवाज उठाइदिन समेत आग्रह गरेका थिए। थिति अभियानका सदस्य मानबहादुर नगालले राम्रो कुरामा विद्यालयलाई आफ्नो अभियानको साथ रहने बताउँदै विद्यार्थी संख्या र शिक्षकको संख्या र विद्यालयको अवस्था हेर्दा सरोकारवाला निकायले विद्यालय मर्जरमा लैजानु पर्ने आफूहरूले महसुस गरेको बताए।