सुर्खेत। स्थानीय तहमा हुने भ्रष्टाचार र बेथिति विरुद्ध देशका ७५३ वटै पालिकामा काम गर्ने गरि घोषणा गरिएको थिति अभियानले गति लिन थालेको छ। अभियान अन्तर्गत गुर्भाकोट नगरपालिका स्तरीय थिति अभियानको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको छ। शनिवार गुर्भाकोट–६का बडाखोली बजारमा बसेको थिति अभियानको बैठकले गुर्भाकोट नगरपालिका भित्रका चरम बेथिति र भ्रष्टाचार विरुद्ध शसक्त प्रतिवाद गर्ने र पालिकामा थिति बसाल्ने अभियान सुरु गर्ने निर्णय गरेको छ।
यसैगरी थिति समूहको बैठकले शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सञ्चालक समिति अवैध रहेको र उक्त अवैध समितिलाई गुर्भाकोट नगरपालिकाको संस्था दर्ता ऐन–२०७५ बमोजिम खारेज गरि साधारण सभाको मिति तोक्न प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ। २०७५ सालमै गुर्भाकोट नगरपालिकाका ६,७,८ र ९ नं. वडामा खानेपानी सेवा प्रवाह गर्न स्थापना भएको संस्थाले विधान बमोजिम हरेक दुई वर्षमा सम्पन्न गर्नुपर्ने साधारण सभा नगरेको र अवैध कार्यसमितिले गाडी दुरुपयोग लगायतका बेथितिहरु बढाउँदै गएकोले तत्काल आवश्यक कदम चाल्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गर्ने निर्णय गरिएको थिति अभियान गुर्भाकोटका सदस्य दिपेन्द्र केसीले जानकारी दिए।
थिति गुर्भाकोटको पहिलो बैठकले पालिकाले आगामी आर्थिक वर्षका लागि तयार पार्न लागेको बजेटमा समेत आफूहरुको भूमिका माग गर्ने निर्णय गरेको छ। थिति अभियानका सदस्य चन्द्रप्रकाश रोकायका अनुसार पालिकाको बजेट निर्माण गर्ने बेला भएको र विकास निर्माणसँग सम्बन्धित काम तथा बजेट निर्माण र विनियोजनमा हुनसक्ने बेथितिलाई रोक्न थिति अभियान र पालिकाका सरोकारवालासँग आवश्यक छलफल गर्न नगरप्रमुखको ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको छ।