सुर्खेत। गुर्भाकोट नगरपालिका भित्रका चारओटा वडामा सञ्चालित शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सञ्चालक समिति अवैध रहेको पाइएको छ। संस्था स्थापनाको पाँच वर्षसम्म पनि साधारण सभा नगरेपछि सञ्चालक समिति स्वतः अवैध भएको हो।
संस्थाको विधानको दफा ८ को उपदफा २ मा संस्थाको वार्षिक साधारण सभा वर्षको कम्तिमा एकपटक बस्नेछ भन्ने उल्लेख छ। तर संस्था स्थापनाको पाँच वर्षमा एकपटक पनि साधारण सभा बोलाइएको छैन। यस्तै विधानको परिच्छेद ७ अन्तर्गत दफा ११ को उपदफा ३ मा कार्यसमितिका पदाधिकारीहरूको कार्यअवधि २ वर्षको हुने उल्लेख छ। सोही उपदफामा कुनै कारणवश अर्को कार्यसमितिको गठन हुन नसकेको अवस्थामा बढीमा १ वर्षसम्म सोही कार्यसमितिले कार्य सञ्चालन गर्नसक्ने उल्लेख छ। यद्यपि संस्था स्थापनाको पाँच वर्षमा विधान अनुसार २०७७ सालमै कार्यकाल सकिएको सञ्चालक समितिले थप १ वर्ष कार्यकाल थप्नका लागि कारण सहितको कुनैपनि निर्णय गरेको छैन।
शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गुर्भाकोट नगरपालिकाको संस्था दर्ता ऐन–२०७५ बमोजिम २०७५ सालमा दर्ता भएको संस्था हो।
गुर्भाकोट नगरपालिकाको संस्था दर्ता ऐन–२०७५ को दफा ६ को उपदफा १ ले ऐन अन्तर्गत दर्ताभएको प्रत्येक संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हुने व्यवस्था गरेको छ। ऐनको यसै दफामा रहेर सम्पूर्ण संस्थाहरुले विधान बमोजिम साधारण सभा गर्नुपर्ने हुन्छ।
शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले साधारण सभा नगरेको सम्बन्धमा गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाईँसँग जिज्ञासा राख्दा संस्थासँग साधारण सभा नगर्नुको कारण माग गरि साधारण सभाबारे आवश्यक निर्देशन दिने बताउनु भयो। गुर्भाकोट नगरपालिकाको संस्था दर्ता ऐन–२०७५ को दफा १२ मा नगरपालिकाले संस्थालाई आवश्यक निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने उल्लेख छ। यस्तै ऐनको दफा १५ मा संस्थाको विधान बमोजिम कार्यसञ्चालन गर्न नसके त्यस्तो संस्थाको जायजेथा नगरपालिकामा सर्ने समेत उल्लेख छ।
साधारण सभा नगरेको विषयमा या संस्थाको हिसाब वार्षिक रुपमा नगरपालिकामा नबुझाएमा या संस्थाको सम्पत्ति हिनामिना भएमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले आवश्यक दण्ड जरिवाना समेत गराउन सक्ने व्यवस्था ऐनले गरेको छ।
संस्थाले गुर्भाकोट नगरपालिकाका ६, ७, ८ र ९ गरि ४ वटा वडामा शुद्ध पिउने पानीको सेवा प्रवाह गरिरहेको छ। शहरी विकास मन्त्रालयद्वारा नेपाल सरकारको ७० प्रतिशत लगानी, नगर विकास कोषको २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत स्वयं उपभोक्ताको सहभागिता लगानी रहको शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०७५ सालमा गुर्भाकोट नगरपालिकामा दर्ता भई आशिष सिएबि प्रेरा जेभीले राष्ट्रिय स्तरको प्रतिस्पर्धाद्वारा विधिवत रुपमा ठेक्का प्राप्त गरि २०७९ श्रावण ६ गते आयोजना निर्माण सम्पन्न गरेको थियो।