नेपाली राजनीतिको ‘डाँकाराम’ प्रवृत्ति र नभेटिएको कोर ‘टिम / एरिया’

पढ्नै पर्ने

गत जेठको पहिलो साता कोर एरिया शब्द निकै चर्चित बन्यो। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदको मत गणना हुँदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केशव स्थापितले प्रयोग गरेको शब्दावली थियो यो। कोर अंग्रेजी शब्द हो जसको नेपाली अर्थ मूल या मुख्य भन्ने हुन्छ। त्यस अर्थमा स्थानीय तहको मतगणनामा लगातार पछि परेपछि एमाले उम्मेदवार स्थापितले कोर एरियाको मतगणना हुँदा आफूले अरुलाई पछि पार्ने दाबी गरिरहेका थिए। अर्थात राजधानीका रैथाने नेवार बहुल क्षेत्रमा मतगणना हुँदा आफूले अरु उम्मेदवारलाई पछि पार्ने स्थापितको दाबी थियो। स्थापितले कोर एरिया भनेका क्षेत्रका मतपेटिकाहरू खोलिए, त्यहाँ पनि बालेन्द्र साहकै पक्षमा मतप्राप्त भयो। मतगणना सकिन थाल्यो तर स्थापितको कोर एरिया कसैले थाहा पाएनन्।

यसपालि पनि यो शब्दले निकै चर्चा पायो तर थोरै फरक के छ भने स्थानीय तह निर्वाचनमा स्थापितले प्रयोग गरेको कोर एरिया भन्ने ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाँकाकुमार श्रेष्ठले कोर टिम भनेको विषय निकै चर्चित बन्यो। मङ्सिरमा प्रतिनिधि सभा निर्वाचनबाट २० सिट प्राप्त गरेको रास्वपाका समानुपातिक तर्फको जनजाति क्लष्टरबाट सांसद बनेका ढाँकाकुमारले आफू स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने र उक्त रकम पार्टी सभापतिको कोर टिमलाई दिनुपर्ने भनेपछि कोर शब्दले फेरी एकपटक चर्चा पाएको हो।

कोर एरियालाई चर्चामा ल्याएका केशव स्थापित निर्वाचनमा तेश्रो स्थानमा आए। आजकाल उनी गुमनाम जस्तै छन्। कोर टिमले चर्चित ढाँकाकुमारको पनि अडियो सार्वजनिक भएको ४ दिनमै पार्टीको सदस्यतासँगै सांसद पद चैट भएको छ। नेपाली राजनीतिमा काण्डैकाण्ड बेहोर्दै आएका हामी नेपालीका लागि नेताहरुका यस्ता अडियो काण्डहरु सामान्यमात्रै लाग्छन्। तर ढाँकाकुमारको पछिल्लो अडियो काण्ड भने सामान्य रुपले लिन सकिँदैन। किनकी ढाँकाकुमार नेपाली राजनीतिको परम्परागत राजनीतिक दलका नेता होइनन् न त उनलाई समानुपातिक तर्फबाट सांसद बनाउने उनको दल नै नेपालको परम्परागत राजनीतिक शक्ति हो।

नेपालका परम्परागत राजनीतिक दलहरूले नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि पटक पटक आन्दोलन गरेर योगदान गरेको भनिए पनि नेपाली नागरिकको आर्थिक सामाजिक रूपान्तरणका लागि यी दलहरु पूर्णतः असफल हुन्। प्रजातन्त्र स्थापनाका सात दशक, पुनः प्रजातन्त्र स्थापनाका तीन दशक र गणतन्त्र स्थापनाको झण्डै डेढदशक वितिसक्दा पनि नेपाली समाज र नागरिकको आर्थिक सामाजिक रुपान्तरणमा दलहरुको ध्यान जान नसक्नु, उल्टै दलभित्रका डाँका र भ्रष्ट प्रवृत्तिले रजगज गर्दै जानु नेपाल र नेपालीका लागि दुर्भाग्य बन्यो। देशको चालू खर्च समेत वैदेशिक ऋण र रेमिट्यान्समा निर्भर रहनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि ढाकाकुमारको दलले प्राप्त गरेको मत नागरिकको निराशाको मत थियो। यो नागरिकको आवेगको मत पनि थियो। परम्परागत दलहरु भित्र मौलाउँदै गएको भ्रष्टाचार, बेथिती र सिन्डीकेटका विरुद्ध ढाँकाकुमारको दलले प्राप्त गरेको मत लहडको मत पनि थियो। खाडी र मलेसियाका श्रम बजारमा बेचिएका लाखौं तन्नेरीका नेपालमा भएका बुढा बाआमाहरुले दिएको आशाको मत पनि थियो। त्यसैले मानिसहरुले राष्ट्रिय स्वतन्त्र पार्टी भित्रबाट ढाँकाकुमारहरुको अडियो काण्ड कहिल्यै अपेक्षा गर्दैनन्, गर्दैनथे।

ढाँकाकुमारको अडियो काण्ड सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो आशाको मत दिएका बृद्ध बाआमा, निराशाको मत दिएको सिंगो युवा पुस्ता र लहडको मत दिएको सामाजिक सञ्जालमा अभ्यस्त रहेको एउटा पुस्ताको मनमा चोट पुगेको छ। नेपालको राजनीतिका पात्र र प्रवृत्तिका कारण मन दुखेको छ। र फेरी एकपटक मानिसहरुले भन्न थालेका छन्, जुन जोगी आएपनि कानै चिरेका। त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीले अडियो काण्डमा संलग्न भएको भनिएका ढाँकाकुमारलाई तत्काल पार्टीको साधारण सदस्यबाट हटाईसकेको छ। उनलाई सांसद पदबाट हटाएर उनको ठाउँमा बिन्धवासिनी कंसाकरलाई सांसद बनाउने उद्घोष पनि रास्वपाले गरिसकेको छ, यद्यपि यसमा केही कानूनी प्रक्रियाहरु समेत पुरा गर्नुपर्ने आवश्यकता छदैछ।

ढाँकाकुमार माथि तत्काल एक्सन लिएर कारवाही गरेको रास्वपा धन्यवादको पात्र नै हो। किनभने हिजो माओवादी नेता कृष्ण महराको अडियो काण्ड र एमाले नेता गोकुल बास्कोटाको अडियो काण्डमा कारवाहीको बदला प्रोत्साहन गरेको परम्परागत दलहरुको ट्र्याक रेकर्ड छ। तर ढाँकाकुमार माथि गरिएको कारवाहीमा रास्वपालाई शंकाको सुविधा दिन सकिने ठाउँपनि पर्याप्त छ। देशका तीनओटा निर्वाचन क्षेत्रमा हुनगईरहेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न र क्षति हुन नदिन रास्वपाले यति गर्नै पर्ने परिस्थिति पनि थियो। यदी ढाँकाकुमार माथिको कारवाही मात्रै अन्तिम हो भने रास्वपाले उनी माथि गरेको कारवाही भनेको उनलाई बलीको बोका बनाएको अर्थमा मात्रै बुझ्न सकिन्छ। किनकी सार्वजनिक अडियोमा ढाँकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि २ करोड आवश्यक परेको मात्रै भनेका छैनन्, उनले त्यो पैसा रास्वपा सभापति लामिछानेको कोर टिमलाई बुझाउनु पर्ने र त्यो उधारो नहुने समेत बताएका छन्। त्यसैले यहाँनिर अडियोमा आवाज भएका आधारमा मात्रै ढाँकाकुमारलाई कारवाही गरेर पन्छिन हुँदैन, अझ रास्वपा जस्तो दलले त यो काण्ड यत्तिकैमा बन्द गर्न झनै पाइँदैन। किनकी यो अडियोले ढाँकाकुमारको गल्ती कति हो भन्ने मात्रै प्रश्न खडा गर्दैन, सबैभन्दा अहम् प्रश्न त ढाँकाकुमारले अडियोमा उल्लेख गरेको कोर टिम र कोर टिमका सदस्यहरु को—को हुन? भन्ने हो।

यसबेला ढाँकाकुमार चर्चामा छन् तर नेपाली राजनीतिमा डाँकाराम प्रवृत्ति भने नयाँ होइन। यीनै डाँकाराम प्रवृत्ति बोकेका दल र पात्रलाई राजनीतिबाट विदा गर्न विकल्पको रुपमा नेपाली नागरिकले ढाँकाकुमारहरु र ढाँकाकुमारहरुको दल खोजेका हुन्। तर ढाँकाकुमारहरु नै डाँकारामहरुको नयाँ अवतारमा देखिनुले एकपटक आम मतदातालाई झस्काएको छ। तसर्थ ढाँकाकुमारलाई के कारवाही भयो भन्ने कुराले अब खास अर्थ राख्दैन अर्थ त बरु ढाँकाकुमारले पैसा बुझाउनु पर्ने कोर टिमका सदस्यहरु को को थिए भन्ने प्रश्नको उत्तरले मात्र राख्छ। रास्वपाका सभापतिले मेरो कोर टिम छैन, मेरा निकटस्थहरुको बैंक खाता चेक गरौं जस्ता सतही कुरा गरेर मात्र अब हुँदैन। रास्वपाले सबैभन्दा पहिले अडियो विश्वसनीय प्रयोगशालामा परिक्षण गराउनु पर्छ। त्यो परिक्षणका रिपोर्टबाट उक्त संवाद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र ढाँकाकुमार श्रेष्ठको नै भएको प्रमाणित भएमा ढाँकाकुमारलाई कुन प्रयोजनका लागि किन पैसा माग गरिएको हो भन्ने प्रश्नको निराकरण हुनेगरी रास्वपा स्वयंले अनुसन्धानका लागि सिआईबीलाई बुझाउने आँट गर्नुपर्छ। अडियो संवादका अर्का व्यक्ति दुर्गा प्रसाई विरुद्ध उजुरी दिएर पक्राउ गराउन र थप अनुसन्धान गराउन सक्नुपर्छ। कसैलाई मन्त्री बन्न आवश्यक परेमा करोडौं रुपैयाँ उपलब्ध गराउन सक्ने प्रसाईंको सम्पत्तिको श्रोत के हो भनेर छानवीन गराउने नैतिक र राजनीतिक जिम्मेवारीको जोखिम समेत रास्वपाले उठाउन सक्नु पर्छ। र कोर टिम र टिमका सदस्यहरु को को थिए भन्ने विषयको अनुसन्धान रास्वपाका नेता कार्यकर्ताले होइन नागरिक आयोग, संसदीय समिति र सिआईबीको संयुक्त टोलीले गर्नुपर्छ र त्यसको सत्यतथ्य विवरण आम नागरिकलाई छिटोभन्दा छिटो दिनुपर्छ। नत्र स्थानीय निर्वाचनमा केशव स्थापितको कोर एरिया नभेटिए झै रास्वपाको कोर टिम कहिल्यै भेटिने छैन्। पात्रका रुपमा ढाँकाकुमार, ढाँकारामहरु जो आएपनि पवृत्तिका रुपमा डाँकारामहरु रहिरहेसम्म नागरिकको आर्थिक सामाजिक रुपान्तरण संभव छैन र आम मतदाताले २०८४ सालको निर्वाचनमा लहडमा, निराशामा र आशामा पात्र मात्रै बदल्ने छैनन्, पात्रसँगै प्रवृत्ति समेत बदल्ने छन्।

-लेखक विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!