सुर्खेत। जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड गुर्भाकोट शाखाले उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार गुर्भाकोटको गुमीमा सरोकारवालाहरुका लागि उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो।
साक्षरता कार्यक्रमका सहभागीहरूले पछिल्लो समय वित्तीय सुधारका क्षेत्रमा देखिएका चुनौती हल गर्नुपर्ने विषयमा धारणा राखेका थिए। यसरी धारणा राख्नेहरुमा कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट १३ का वडाध्यक्ष मधु गुरुङ्ग, सञ्चार उद्यमी सूर्यदीप रेग्मी लगायत रहनु भएको थियो।
संस्थाले प्रदान गर्ने ऋण सदस्यहरुले उत्पादनमूलक काममा मात्र लगानी गर्नुपर्ने र ऋणिले आफ्नो उत्पादनबाट ऋणको साँवाब्याज तिर्नसक्ने अवस्थाको सिर्जना गर्नु अहिलेको आवश्यकता भएकोमा कार्यक्रमका वक्ताहरुको जोड थियो।
कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका मुख्य व्यवस्थापक लोकमणी रेग्मीले वचत, कर्जा प्रवाह र दायित्वबारे सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो। यस्तै संस्थाका प्रदेश प्रमुख अनिल अधिकारीले संस्थाले सदस्य तथा ऋणिलाई दिने सुविधा तथा संस्थाको सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा संस्थाका अनुगमन प्रमुख कमल पौडेल, गुर्भाकोट शाखाका प्रबन्धक उज्वल विक्रम योगी, कर्मचारीहरु उत्तम लम्साल, बिमल डि.सी लगायतको उपस्थिति रहेको थियो।
यसअघि संस्थाले सोमवार भेरीगंगा शाखामा उद्यमशीलता विकास र साक्षरता कार्यक्रम सम्पन्न गरेको संस्थाका अनुगमन प्रमुख कमल पौडेलले जानकारी दिनुभयो।