सुर्खेत। गुर्भाकोट नगरपालिका झण्डै दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ। यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढाले माघ १० गतेसम्म पालिकाको आर्थिक प्रशासनिक नेतृत्व गर्दै आउनु भएको थियो।
बुढा नियमित कार्यालय नआएको र कार्यसम्पादन राम्रो नभएको भन्दै नगर कार्यपालिका बैठकले बुढाको आर्थिक अधिकार फिर्ता लिदैं पालिकाको स्वास्थ्य शाखाका प्रमुख अधिकृत सातौँ महेश कुमार पुरीलाई आर्थिक अधिकार प्रदान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो। तर मन्त्रालयले अधिकृत आठौं बुढाको भन्दा कनिष्ठ सातौँ तहका अधिकृतलाई आर्थिक अधिकार प्रत्यायोजनको पत्र नदिए पछि गुर्भाकोट नगरपालिकामा सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको हो।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिवको दरबन्दी रहेको गुर्भाकोट नगरपालिकाको वेबसाइटमा भने प्रमुख प्रशासकीय अधिकृत भनेर देवकिरण बुढालाई राखिएको छ। तर बुढाको आर्थिक अधिकार खोसिएपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष लामो समयदेखि खाली छ। आर्थिक बाहेकका नियमित प्रशासनिक कामकाज भने निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार पुरीले सम्हाल्दै आउनु भएको छ।
हेर्नुस गुर्भाकोट नगरपालिकाको वेबसाइटमा प्रमुख प्रशासकीय अधिकृतको विवरण
संघीय सरकारको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा कामकाजका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव पदम प्रसाद बजगाईँलाई पठाइएको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९ फागुन ३ गतेको निर्णय बमोजिम उपसचिव बजगाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको भएपनि उहाँ यो समाचार तयार पार्दासम्म पालिकामा हाजिर हुनुभएको छैन।
हेर्नुस सामान्य प्रशासन मन्त्रालयले फागुन ३ गतेको निर्णय अनुसार कामकाजमा खटाएको विवरण
पालिका श्रोतका अनुसार उपसचिव बजगाईं आउने सम्भावना क्षीण बन्दै गएपछि भर्खरै उपसचिव पदमा बढुवा भएका पदमलाल लामिछानेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याउने प्रयास भइरहेको थियो यद्यपि मन्त्रालयको २०७९ फागुन १६ गतेको निर्णय अनुसार लामिछानेलाई बुढीगंगा नगरपालिका बाजुराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटाइएको छ।
हेर्नुस सामान्य प्रशासन मन्त्रालयले फागुन १६ गतेको निर्णय अनुसार कामकाजमा खटाएको विवरण
यता प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण नागरिकले सास्ती खेप्नु परेको छ। निमित्त प्रमुख पुरीले नियमित प्रशासनिक सम्हालिरहेको भएता पनि आर्थिक अधिकार नहुँदा योजना, कार्यक्रम तथा खरिदको भुक्तानी हुनसकेको छैन। पछिल्लो दुई महिना यता तलब समेत नपाएको कर्मचारीहरूले गुनासो गर्न थालेका छन्।