Monday, October 7, 2024
spot_img

​​​​​​​कार्यालय प्रमुखविहीन गुर्भाकोट नगरपालिकाः प्रमुख प्रशासकीय अधिकृत बुढा बर्खास्त

सुर्खेत। गुर्भाकोट नगरपालिका कार्यालय प्रमुखविहीन बनेको छ। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकिरण बुढा सम्पर्क बाहिर रहेका कारण पालिका प्रमुखविहीन बनेको हो। बुढाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए देखिनै विना जानकारी कार्यालयमा अनुपस्थित हुने गर्नुभएको थियो।

कार्यालय प्रमुख बुढा कार्यालयमा नियमित उपस्थित नभएपछि नगर प्रमुख र कार्यपालिका सदस्यहरुले पटक पटक कार्यालयमा नियमित हाजिर हुन मौखिक आग्रह गरेका थिए। पटक पटकको निर्देशन प्रमुख प्रशासकीय अधिकृत बुढाले नमानेपछि नगर प्रमुख पुनले लिखित स्पष्टीकरण माग गर्नुभएको थियो। लिखित स्पष्टीकरण माग गरेकै दिन देखि प्रमुख प्रशासकीय अधिकृत बुढा फेरी सम्पर्कविहीन हुनुभएको थियो।

उहाँले प्रयोग गर्ने दुईवटै फोनहरु स्विच अफ गरिएको छ। नगर प्रमुखले तोकेको समय भित्र स्पष्टीकरण समेत नआएकाले बुढालाई कार्यालय प्रमुख पदबाट हटाइएको छ। उहाँलाई कार्यालय प्रमुखबाट बर्खास्त गरिएको पत्र समेत फेसबुक म्यासेन्जर मार्फत पठाइसकिएको र बुढाले सो पत्र सिन’ गरेको समेत पालिका श्रोतले जनाएको छ।

लामो समय पालिका प्रमुख प्रशासकीय अधिकारविहीन हुँदा भुक्तानी लगायतका दैनिक प्रशासनिक कामहरु प्रभावित हुँदै आएका छन्।

हाल स्वास्थ्य शाखाका प्रमुख रहनुभएका सातौं तहका अधिकृत महेशकुमार पुरीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।

कार्यालयका अन्य कामकाजहरु निमित्त प्रमुखबाट हुने भएता पनि आर्थिक प्रशासनसँग सम्बन्धित सम्पूर्ण कामहरुका लागि प्रमुख प्रशासकीय अधिकृत हुनैपर्ने व्यवस्था छ। आर्थिक प्रशासन तथा दैनिक कामकाजहरु नियमित गर्न पुरीलाई नै आर्थिक अधिकार सहितको कार्यालय प्रमुख बनाउने गरि तयारी थालिएको श्रोतले बताएको छ।

सोमवार बस्ने कार्यपालिका बैठकले पुरीलाई कार्यालय प्रमुख बनाउने निर्णय गर्ने र तत्कालै सहमतिका लागि सामान्य प्रशासन मन्त्रालय पठाउने तयारी भएको जनाईएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!