काठमाडौं। विवेकशील साझा पार्टीले आसन्न निर्वाचनका लागि आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय बखुन्डोलमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष समिक्षा बास्कोटाले चुनावी प्रतिवद्धता २०७९ सार्वजनिक गरेकी हुन्।
तत्कालिन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको मर्म विपरित गतिविधि गरेपछि आलोचित बनेको विवेकशील साझाले नयाँ नेतृत्व पाएपछि सार्वजनिक गरेको प्रतिवद्धता पत्र मार्फत लयमा फर्किने संकेत गरेको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष बास्कोटाले पछिल्लो पाँच वर्षमा थुप्रै उतारचढावहरू पार गरेपनि विवेकशील साझा पार्टी स्थापनाको मर्म मर्न नदिने गरि अगाडि बढेको धारणा राखिन।
चुनावी प्रतिवद्धता पत्रमा पार्टीको संक्षिप्त चिनारी राख्दै विवेकशील साझाले आफ्नो दर्शन/विचार/वाद कल्याणकारी लोकतन्त्र हुने उल्लेख गरेको छ। पार्टीले सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि आफ्नो लक्ष्य हुने बताएको छ। यस्तै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य र सामाजिक न्याय रहने उल्लेख छ।
पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता पार्टीको मूल्यमान्यता रहेको बताउँदै विवेकशील साझाले चुनिएका प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने राइट टु रिकल तथा कोही उम्मेदवार उपयुक्त छैनन् राइट टु रिजेक्ट जस्ता मतदाता अधिकारहरु सुनिश्चित गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ।
गुणस्तरीय शिक्षा र स्वास्थ्य र शिक्षालाई पूर्णतः निशुल्क गर्ने प्रतिवद्धता जनाएको विवेकशील साझाले विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्ने जनाएको छ।
देशको दिगो अर्थतन्त्रका लागि प्रविधि, जलविद्युत, कृषि र पर्यटनमा आधारित अर्थतन्त्रको विकास गर्ने विवेकशील साझाले प्रतिवद्धता जनाएको छ।
विवेकशील साझाले प्रतिवद्धता पत्र सार्वजनिक गरेसँगै पछिल्लो पाँच वर्षमा अनेकौं उतारचढाव पार गर्नुपरे पनि पार्टीले नयाँ ढंगले वैकल्पिक राजनीतिको लय समातेको र नेपालमा वैकल्पिक राजनीतिको नेतृत्व विवेकशील साझाले नै गर्ने चर्चा हुन थालेको छ।
यस्तो छ विवेकशील साझाको चुनावी प्रतिवद्धता पत्रः
पार्टीको संक्षिप्त चिनारी
पाटीको नाम: विवेकशील साझा पार्टी
पार्टीको झण्डा: नीलो पृष्ठभूमिमा सेतो तराजु चिन्हसहितको आकार
चुनाव चिन्हः तराजु
पार्टीको दर्शन/ विचार /वाद कल्याणकारी लोकतन्त्र Welfare Democracy)
पार्टीको लक्ष्य: सुसंस्कृत राजनीतिक, समतामूलक संवृद्धि
पाटीको मार्गदर्शक सिद्धान्त: सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य, सामाजिक न्याय
पार्टीको मूल्यमान्यता: पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity) उत्कृष्टता (Meritocracy) अर्थात् STIM
यो पाटीको आवश्यकता किन पर्यो?
विश्वमा हामीभन्दा अत्यन्त गरिब र साधनले विपन्न मुलुकहरूले द्रुतगतिमा प्रगति गर्दा साधन र स्रोतले सम्पन्न हामी विश्वकै अति गरिब मुलुकका रूपमा रहिरहेका छौ। सरकार सधैँ अस्थिर भइरह्यो । सरकार चलाउनेहरू असक्षम र भ्रष्ट भइरहे । दशकौँसम्म राजनीति गरेका दल र तिनका सबैजसो नेताले स्थिर, सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो सङ्केत देखाउन सकेनन् । व्यक्ति बन्ने तर देश नबन्ने राजनीति विद्यमान रह्यो। अहिलेको राजनीतिको विकल्पका रूपमा विवेकशील साझा पार्टी परिणाममुखी, कल्याणकारी लोकतन्त्र स्थापित गरि एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने दृढ अठोटका साथ वि.सं. २०७४ मा विधिवत् स्थापना भएको हो ।
यो पार्टी अरू भन्दा कसरी फरक छ ?
यो पार्टी नेपालको धर्तीमा जन्मेर हुर्केर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी नेपालीको मनको बोली बोल्ने पार्टी हो । नेपालको गौरवमय इतिहास, जैविक विविधतायुक्त भूगोल, सनातनदेखि चलिआएको धर्म, रीतिथिति, हजारौँ वर्ष पुरानो संस्कृति, बहुजाती, बहुभाषिक समाज र दक्षिण एसियाको विशिष्ट भूराजनीतिलाई राम्ररी बुझेको यो पाटीले परम्परागत वादप्रतिको जड सूत्रीय लगावभन्दा समकालीन नेपाली समाजका आवश्यकता र नयाँ पुस्ताको आकाङ्क्षा प्रतिबिम्बित हुने मार्गदर्शक सिद्धान्त अवलम्बन गरेको छ । विधिको शासनलाई मूल मन्त्र मानेको यो पार्टी अहिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त र समावेशी शासन व्यवस्था, समतामूलक र न्यायपूर्ण समाज स्थापना गर्न प्रतिबद्ध छ ।
यो पार्टीका सदस्यहरू लोकतान्त्रिक सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्दछन् र राजनीति भनेको सेवा हो, पेसा होइन भन्नेमा अटल छन् । यो पार्टीले इमानदार, उत्कृष्ट, क्षमतावान् र देशलाई माया गर्ने व्यक्तिहरूलाई राजनीतिमा सहभागी हुन र नेतृत्व गर्न प्रेरित गर्दछ । स्वदेश र विदेशमा रहेका सक्षम, अनुभवी र ऊर्जाशील व्यक्तिहरूलाई उनीहरूको चाख र क्षमता अनुसार पार्टी या राज्यको जिम्मेवारीका लागि अवसर दिनेछ । चुनिएका प्रतिनिधिहरूलाई फिर्ता बोलाउन पाउने (राइट टु रिकल ) तथा कोही उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) जस्ता मतदाताका अधिकारहरू सुनिश्चित गर्नेछ । पार्टीका हरेक सदस्यले आफ्नै विद्यमान सम्पत्तिबाट या कुनै न कुनै व्यवसाय, इलम वा उद्योगधन्दा गरि जीविका चलाउने छन् । पार्टीको पैसा वा राज्य कोषको दोहन गरी कार्यकर्ताको भरण पोषण गर्ने अहिलेको प्रवृत्ति अन्त्य गरिनेछ ।
विवेकशील साझा पार्टी चुनावी प्रतिबद्धता २०७९
१. विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नेछौँ । नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्नेछौँ ।
२. शिक्षा: जीवन उपयोगी, गुणस्तरीय, संविधान अनुसार निःशुल्क शिक्षा प्रदान गर्ने ।
क. दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बुढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने ।
ख. विश्वविद्यालय, स्थानीय सरकार, नेपाली सेना, प्रहरी, कर्मचारीतन्त्र लगायतको एक संयन्त्र बनाई विश्वविद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीलाई सिकाई र देशलाई योगदान स्वरूप निःशुल्क एक वर्ष काम गर्ने व्यवस्था मिलाइनेछ ।
ग. नेपालमा पर्यटन विश्वविद्यालय स्थापना र त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने
घ. निजी विद्यालयहरूले दुर्गमका विद्यालयको स्तरोन्नति र बाल कल्याणमा अनिवार्य लगानी गर्ने व्यवस्था मिलाउने ।
ङ. पुस्तान्तरणलाई मजबुत बनाउन ज्येष्ठ नागरिकहरूद्वारा नजिकैका विद्यालयमा सिप, कला, संस्कृति लगायतका विषयमा प्रशिक्षण तथा कार्यशाला संचालन गर्ने व्यवस्था गर्ने ।
३. स्वास्थ्य: गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ।
क. देशभर स्वास्थ्य बिमा लागु गर्ने ।
ख. हरेक पालिकामा जनरल फिजिसियनको दरबन्दी अनिवार्य गर्ने ।
ग. निजी अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व वा सिएसआर अन्तर्गत दुर्गमका स्वास्थ्य संस्थालाई अनिवार्य सहयोग गर्नुपर्ने व्यवस्था गर्ने ।
४. आत्मनिर्भर तथा दिगो अर्थतन्त्र: चार खम्बा: प्रविधि, जलविद्युत्, कृषि र पर्यटन (THAT) मा आधारित अर्थतन्त्रको विकास गर्ने।
क. फलफूल, तरकारी, खाद्यान्न र पशुमा आत्मनिर्भर, जडीबुटीमा निर्यातमुखी कृषि व्यवस्था लागु गर्दै खाद्यान्न उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन र आधुनिक कृषि प्रणालीका माध्यमबाट रोजगारी बढाउन कदमहरू चाल्नेछ ।
ख. हाल बन्द रहेका उद्योगहरूमा नेपालका कारागारहरू स्थानान्तरण गरि बन्दीहरूलाई सहज बासको व्यवस्था गर्ने । कैदी बन्दीले सोही उद्योगमा काम गरी देशको उत्पादकत्व बढाउने नीति बनाउने ।
ग.सहकारीहरूमा भएका गैह्र कानुनी कार्यलाई निरुत्साहन गर्न राष्ट्र बैङ्कको प्रत्यक्ष निगरानीमा राखेर सहकारीहरूको उत्पादनमुखी काममा भूमिका बढाउने ।
घ. बिद्युत् र ग्रिन हाइड्रोजन निर्यात गर्ने नीति तर्जुमा गर्ने
ङ. कार्बन उत्सर्जन गर्ने राष्ट्रबाट अनिवार्य क्षतिपूर्ति लिने व्यवस्थालाई बलियो बनाउने ।
च. शहरका सार्वजनिक यातायातलाई सहकारी संस्थाहरूको समेत सहभागितामा सार्वजनिक निजी साझेदारी नीति अन्तर्गत लैजाने व्यवस्था गर्ने । ट्रली बस जस्तै विद्युत्बाट चल्ने सार्वजनिक यातायातमा लगानीकर्तालाई आकर्षित गर्ने ।
५. भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धि राज्यसंचालनको पहिलो प्राथमिकता हुने। भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति लागु गर्नेछ । २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरि अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारवाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नेछ ।
६. न्यायलय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगायत राज्यका विभिन्न अंग तथा निकायमा भइरहेको राजनीतिक भागवण्डाको प्रचलन खारेज गर्नेछ । योग्यता, क्षमता र इमानदारीको कसीमा समावेशी तबरले पदाधिकारीको नियुक्ति गर्नेछ ।
७.सार्वजनिक खर्च कटौतीको लागि आवश्यक अध्ययन गरी अनावश्यक रुपमा राजनीतिक भर्तीकेन्द्र बन्न पुगेका सरकारी निकायहरुलाई तत्काल खारेज गर्न आवश्यक कदम अगाडि बढाईनेछ ।
८. संवैधानिक आयोगहरुमा युवालेपनि सहभागि हुन पाउने व्यवस्था सुचिश्चित गर्ने ।
९. न्युन आय भएकालाई आवास र गुणस्तरीय सार्वजनिक यातायातको सुनिश्चित गर्ने ।
१०. असंलग्न परराष्ट्र नीति र सन्तुलित विदेश नीति अपनाउने । दुई ठूला छिमेकी भारत र चीनसंग समनिकटताको सम्बन्ध राखी ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण विदेश नीति अवलम्बन गर्दै उनीहरुको तिब्र आर्थिक विकासबाट अधिकतम लाभ लिन प्रयास गर्नेछ । सोही नीति अन्य देशहरुका हकमा पनि अख्तियार गरिनेछ ।
११. वातावरण तथा सम्पदा संरक्षणमा दिर्घकालिन योजना तर्जुमा गर्ने। विकासका नाममा लापरवाही तबरले रमणीय डाँडाकाँडा भत्काउने, पानीका मुहान सुकाउने, नदीनाला दूषित बनाउने, वनजंगल ध्वस्त पार्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने अहिलेको प्रवृत्तिमा रोक लगाउने छ । दीगो, सन्तुलित र वातावरणमैत्री विकासको स्वदेशी मोडल तयार गरी लागू गर्नेछ ।
१२.. सह्कारीको मुल्य एव मान्यतालाई विचलन नगरी प्रवर्धन गर्दै निजी क्षेत्रसग गुणस्तर, मुल्य र आपुर्तीमा स्वास्थ्य प्रतिस्पर्धात्मक अभ्यासवाट आम नागरिकलाई सेवा दिइनेछ।
१३.राज्यको पैसामा स्वदेश वा विदेशमा अध्ययन गरेका कर्मचारी वा विशेषज्ञले अनिवार्य स्वदेशमा रहेर काम गर्नु पर्ने र यदि नगरेमा कानुनी कारवाही गर्ने व्यवस्थालाई प्रभावकारीरुपमा परिमार्जन सहित लागु गर्ने ।