सुर्खेत। आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरका कर्मचारीहरु सम्मानित भएका छन्। वार्षिक कार्य मूल्याङ्कनमा प्रथम भएको स्वास्थ्य केन्द्रलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा कार्यालय प्रमुख नेत्रलाल खत्री, अ.हे.व. यमुना कुमारी वली, अ.न.मि. प्रतिक्षा वली, अ.न.मि. यानकुमारी पुन, ल्याब असिस्टेन्ट रिता वि.क., कार्यालय सहयोगी विना वि.क र सरसफाइ सहयोगी कमला कुमारी कामी रहनु भएको छ।
गुर्भाकोट नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र मध्यबाट स्वास्थ्य प्रणाली सुदृढीकरण गरि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक मूल्याङ्कनमा बोटेचौर स्वास्थ्य केन्द्र प्रथम भएको थियो।
स्वास्थ्य केन्द्रलाई प्रथम स्थानमा ल्याउन प्रभावकारी भूमिका खेलेको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेश कुमार पुरीले स्वास्थ्यकर्मी र स्वास्थ्य कर्मचारीको प्रयासले मात्रै वार्षिक कार्य मूल्याङ्कनमा बोटेचौर स्वास्थ्य केन्द्र प्रथम बन्न सकेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा गुर्भाकोट ९ का वडाध्यक्ष ज्ञानबहादुर खत्रीले आफ्नो वडाको स्वास्थ्य केन्द्र वार्षिक कार्य मूल्याङ्कनमा प्रथम बनेकोमा खुसी व्यक्त गर्नुभयो। खत्रीले स्वास्थ्य सेवा प्रवाहमा केन्द्रलाई कुनै अप्ठ्यारो परे ९ नं. वडा कार्यालय सँधै साथमा रहेकाले हरेक वर्ष स्वास्थ्य संस्थालाई अब्बल सावित गर्नेगरी सेवा प्रवाह गर्न कर्मचारी तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।