सुर्खेत। गुर्भाकोट नगरपालिकाको मुख्य बजार क्षेत्र मेहेलकुनामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मेहेलकुना बजार व्यवस्थापन समिति र मेहेलकुना पवित्र बजार टोल विकास समितिको आयोजनामा संविधान दिवसको अवसर पारेर सोमवार बजार सरसफाइ गरिएको हो।
गुर्भाकोट ७ मा रहेको शिव मन्दिरदेखि मेहेलकुना अस्पतालहुँदै मेहेलकुना बजार क्षेत्रको सरसफाइ गरिएको हो। बजार सरसफाइ कार्यक्रममा नगर स्वास्थ्य शाखाको टिम, नेपाल प्रहरी, गार्डेन मार्ट गुर्भाकोट ग्यालरी र स्थानीयवासी समेतको सक्रिय सहभागिता रहेको मेहेलकुना बजार व्यवस्थापन समितिका अध्यक्ष रिमराज मल्लले बताउनु भयो। मल्लका अनुसार सरसफाइ र स्वच्छता कायम राख्न यस्ता कार्यक्रमहरु नियमित आयोजना गरिने छ।
सरसफाइ कार्यक्रममा उपस्थित नगर स्वास्थ्य शाखाका प्रमुख महेशकुमार पुरीले डेंगुको महामारी फैलिरहेको बेला लामखुट्टे लाग्न नदिन घर वरपर स्वच्छता कायम गर्नु पहिलो आवश्यकता भएको बताउनु भयो। घर वरपर उम्रिएको घाँस, पानी जम्ने खाल्डाखुल्डी र फोहरका कारण लामखुट्टे आउने र लामखुट्टेको टोकाईनै डेंगु रोगको मुख्य कारण भएकाले सरसफाइ गरे डेंगुबाट बच्न सकिने भएकाले नगर स्वास्थ्य शाखाले बजार क्षेत्र सफाइ कार्यमा समन्वय गरेको बताउनु भयो।